डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण जितेकी एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघद्वारा सम्मान
काठमाडौँ । मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघले सम्मान गरेको छ।
संघले मंगलबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन गर्दै एरिकालाई नगद एक लाख रुपैयाँ र प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेको हो। सम्मान कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह, महासचिव दावा लामा लगायतको उपस्थिती थियो।

एरिकाले ६८ केजी तौलसमूहमा स्वर्ण पदक जित्दै नेपाललाई पहिलोपटक सिरिज वान कराते प्रतियोगितामा पदक दिलाएकी हुन्। कार्यक्रममा विश्व कराते च्याम्पियनसिप खेल्ने तयारीमा रहेकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाइ पनि खादा लगाएर सम्मान गरिएको थियो।
अध्यक्ष युवराज लामाले अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सफल हुन खेलाडी र प्रशिक्षक दुवै पक्षले नयाँ प्रविधि र तालिममा आफूलाई अपडेट गर्नुपर्ने आवश्यकता औँल्याए। प्रशिक्षक श्रेष्ठले यस किसिमका सम्मानले खेलाडीहरूलाई थप प्रेरणा दिने बताए।

एरिकाले पनि अब आगामी विश्व कराते च्याम्पियनसिपको तयारीमा जुटेको बताउँदै, विश्व स्तरमा नेपालको करातेप्रतिको छवि सकारात्मक बन्दै गएको धारणा राखिन्।
प्रतिक्रिया