माघ १२ २०८२, आइतबार

“No Not Again!”—रगतले हात धोएर नमस्कार गर्ने राजनीति अब अस्वीकार्य छ

Ads


✍️विश्व प्रकाश शर्मा
नेपाली कांग्रेस युवा नेता(झापा)

झापा क्षेत्र नं–५ का मतदाताले फेरि उही पात्रलाई जिताएर पठाउने हुन् त? यो प्रश्न आज सामान्य जिज्ञासा होइन, लोकतन्त्रको आत्मासँग जोडिएको गम्भीर आत्मपरीक्षण हो। ‘न बिर्सन्छौँ, न बिर्सन दिन्छौँ’ भन्ने नारा केवल पोस्टरमा सीमित रहने कि मतपेटिकामा पनि बोल्ने यही निर्णायक घडी हो।
जनआन्दोलनको नाममा रगत बगेको इतिहास हामीसँग छ। परिवर्तन र राजनीतिक व्यवस्थाका लागि लड्दा घाइते भएका, जेलनेल सहेका र सहिद भएका युवाहरूको त्याग कुनै अमूर्त कथा होइन...यो गणतन्त्रको मूल्य हो तर आज त्यही मूल्यलाई विस्मृत पार्दै, आन्दोलनको नायिके जस्तो प्रस्तुत गरिने तर व्यवहारमा हत्यारासँग जोडिएको, सत्ताको स्वादमा बारम्बार उही प्रवृत्ति दोहोर्‍याउने पात्रलाई ‘फेरि एकचोटि’ भनेर स्वीकार्नु कति उचित होला?

Ads

केपी शर्मा ओली लगायत पुराना अनुहारहरू ‘स्थिरता’को नाममा बारम्बार दोहोरिन्छन्, तर त्यो स्थिरता जनताको जीवनमा देखिँदैन। संस्थागत लोकतन्त्र कमजोर बनाउने, आलोचनालाई देशद्रोह ठान्ने, असहमतिको स्वरलाई दमन गर्ने प्रवृत्ति नै पुरानो राजनीतिक संस्कारको पहिचान बनेको छ। यही संस्कारले भ्रष्टाचारलाई ढाकछोप गर्छ, उत्तरदायित्वलाई टार्छ र नेतृत्वलाई जनताभन्दा माथि राख्छ।
झापा–५ का मतदाताहरूले यो प्रश्न आफैंसँग गर्नैपर्छ—के हामीले फेरि त्यही शैली, त्यही अहंकार, त्यही असंवेदनशीलता रोज्ने? कि जनआन्दोलनको रगतले लेखिएको इतिहासलाई सम्मान गर्दै नयाँ नेतृत्व, नयाँ सोच र जवाफदेही राजनीति रोज्ने? नेतृत्व परिवर्तन कुनै व्यक्तिगत रिसइवी होइन; यो लोकतन्त्रको स्वाभाविक अभ्यास हो। समय बदलिन्छ, चुनौती बदलिन्छ, त्यसअनुसार नेतृत्व पनि बदलिनुपर्छ।

आजको आवश्यकता ‘एक व्यक्ति, एक कालखण्ड’को मोह तोड्ने हो। युवाको भरोसा फर्काउने, संस्थालाई बलियो बनाउने, संविधानको मर्मअनुसार सत्ता चलाउने नेतृत्व चाहिएको छ। जनताको पीडा सुन्ने, गल्ती स्वीकार्ने र सुधार गर्ने साहस नभएको नेतृत्वलाई ‘फेरि’ भन्नु भविष्यलाई धोका दिनु हो।

Ads

यसैले यो खबर केवल आलोचना होइन, चेतावनी पनि हो—No Not Again! पुराना अनुहार र प्रवृत्तिलाई होइन, लोकतन्त्रलाई जिताऔँ। झापा–५ ले इतिहास दोहोर्‍याउने कि इतिहास बदल्ने—निर्णय अब मतदाताहरुकै हातमा छ!!

प्रतिक्रिया

सम्बन्धित समाचार