ओलम्पिकमा नेपालको १५औँ सहभागिता, नगण्य उपलब्धि
ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ। यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन्। टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन्। अन्य खेलाडीहरुलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो। नेपालले ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ। नेपालका अन्य खेलाडीहरुमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन्। नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो।
नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औं पटक हो। आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भब्य उदघाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ। ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ। यसमध्ये एशियाका ४४ वटा देशहरुले भाग लिदैछन्। ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ। नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो। पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन्।
यसअघि ओलम्पिकका लागि छनोट खेल पार गरी सहभागी हुन सफल नेपाली खेलाडीमध्ये पहिलो खेलाडीमा ताइक्वाण्डोकी खेलाडी संगिना बैध्य थिइन्। सन् २००४ मा ग्रीसको राजधानी एथेन्समा आयोजित ओलम्पिकमा उनी छनोट चरणमा जितेर भाग लिन सफल भएकी थिइन्। सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा ताइक्वाण्डो खेलाडी दिपक बिष्ट पनि छनोट खेल जितेर ओलम्पिक खेल्न गएका थिए। अन्य खेलाडीहरु भने कोटा तथा वाइल्ड कार्डको आधारमा ओलम्पिकमा सहभागी हुँदै आइरहेका छन्। ओलम्पिकमा एथलेटिक्स तथा स्विमिङ खेलमा अनिवार्य सहभागी पठाउनु पर्ने नियमअनुसार ती खेलमा नेपाली सहभागी बढी भएको पाइएको हो।
विगतको सहभागिता
सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि नेपालले ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको थियो। त्यतिखेर नेपाली टिममा दुई धावक र चार जना बक्सरलाई समावेश गरिएको थियो। बक्सरहरु भने हङ्गकङस्थित गोरखा रेजिमेण्टमा कार्यरत नेपाली सैनिकहरु थिए। सन्् १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिक बाहेक नेपालको ओलम्पिकमा सहभागिता छुटेको छैन। हालसम्म सबैभन्दा धेरै एथलेटिक्सका खेलाडीहरुले नेपालको तर्फबाट ओलम्पिकमा भाग लिएका छन्।
प्रतिक्रिया