५८ वर्षको यात्रामा रहेको नरेन्द्र जनता माविमा भव्य उत्सव सम्पन्न
पाँच दशकभन्दा बढी समयदेखि कमल–१ को शैक्षिक पहिचान बनेको श्री नरेन्द्र जनता माध्यमिक विद्यालयले आज आफ्नो ५८ वर्षे यात्रालाई स्मरण गर्दै उत्सवमा रुपान्तरण गरेको छ। विद्यालय परिसर आज केवल कार्यक्रम स्थल होइन, उपलब्धि, सम्झना र भावनाको साझा थलो बनेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्य रायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सरकारको तर्फबाट कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले विद्यालयको शैक्षिक योगदान र सामाजिक भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पालिकाको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद नेउपानेले विद्यालयको प्रगति यात्रालाई उदाहरणीय भन्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो। साथै स्थानीय समाजसेवी, अभिभावक र पूर्व विद्यार्थीहरूको उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।
वार्षिकोत्सवको अवसरमा विद्यालयले अध्ययन, अनुशासन र प्रतिभामा उत्कृष्ट देखिएका १५ जना विद्यार्थीलाई ‘उत्कृष्ट वर्ष विद्यार्थी’का रूपमा सम्मान गरेको छ। त्यस्तै, सन्तानको शिक्षामा निरन्तर साथ र सहयोग पुर्याउने दुई जना अभिभावकलाई ‘उत्कृष्ट वर्ष अभिभावक’ सम्मान प्रदान गरियो। माध्यमिक तहमा लेखा विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक कृष्णकुमार बुढाथोकी यस वर्षका ‘उत्कृष्ट शिक्षक’ घोषित भई सम्मानित हुनुभयो।
कार्यक्रमको सबैभन्दा भावुक क्षण ३५ वर्षसम्म विद्यालयलाई कर्मथलो बनाएर सेवा गर्नुभएका शिक्षक सिताराम घिमिरेको सम्मानसहितको बिदाइ थियो। दीर्घ सेवापछि उहाँलाई विद्यालय परिवारले कृतज्ञतासाथ विदाइ गरेको थियो।
यसै अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ (IPPAN) नेपालका अध्यक्ष एवं व्यवसायी गणेश कार्कीले प्रत्येक वर्ष प्रदान गर्दै आउनुभएको रु. १ लाख बराबरको ‘गणेश कार्की विद्यार्थी प्रोत्साहन छात्रवृत्ति’ कक्षा ११ मा अध्ययनरत ३० जना विद्यार्थीलाई नगद रु. २ हजारका दरले वितरण गरिएको छ। छात्रवृत्ति प्रमुख अतिथि अध्यक्ष राई तथा छात्रवृत्ति कोष संस्थापककी आमा टिकादेवी कार्कीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य र नाटकले वातावरणलाई उल्लासमय बनाएको थियो भने शिक्षक लक्ष्मी प्रसाईं, फडेन्द्र पौडेल र प्रेम तामाङको गायन प्रस्तुतिले दर्शकको मन छोयो। कार्यक्रममा उपस्थित ५० जना अभिभावकलाई भाग्यचिठ्ठामार्फत घरायसी प्रयोगका सामग्री उपहार प्रदान गरिएको थियो।
शिक्षक लक्ष्मीप्रसाद प्रसाईंको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि र भावी योजनाबारे प्रस्तुति राख्नुभएको थियो।
सम्मान, छात्रवृत्ति र संस्कृतिको सुन्दर संयोजन बनेको यो वार्षिकोत्सव नरेन्द्र जनता माध्यमिक विद्यालयको निरन्तर शैक्षिक यात्रामा अर्को प्रेरणादायी अध्याय बनेको छ।

प्रतिक्रिया