गौरादह ४ मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु, वडाध्यक्ष भण्डारीको भुमिदान संकल्प
गौरादह—नेपाल मानव धर्म सेवा समितिको आयोजनामा सामुदायिक सत्सङ भवन निर्माण र जग्गा खरिद गर्ने उद्देश्यले गौरादह-४, मिलनचोकमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। बैशाख ९ देखि १६ गतेसम्म चल्ने महायज्ञको पहिलो दिनको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्। महापुराणको प्रथम दिन अर्थात हिजो बैशाख १० गते विभिन्न क्षेत्रका साधुसन्त, भक्तजन र स्थानीयको उल्लेखनीय उपस्थितिमा दिवा तथा सन्ध्याकालिन अनुष्ठान सम्पन्न भएको छ ।
हिजोको सन्ध्याकालीन अनुष्ठानमा प्रमुख अतिथि रहेका वडाध्यक्ष दिलिप भण्डारीले गौरादहमा एकीकृत धार्मिक स्थलको आवश्यकता रहेको बताए। उनले अर्जुनधारालाई 'पूर्वको पशुपतिनाथ' का रूपमा परिचित उदाहरण दिँदै, गौरादहमा धेरै मठमन्दिर भए पनि अझै सम्म धार्मिक पर्यटन केन्द्र बन्न सकेको छैन भनेर औँल्याए। भण्डारीले नेपाल मानव धर्म सेवा समितिको गौरादहमा स्थापना पछि समाजमा आएको सकारात्मक परिवर्तनको पनि चर्चा गरे। उनले समितिको नियमित धार्मिक कार्यक्रमहरूले समुदायमा नैतिक चेतना, सहिष्णुता र सकारात्मक आचरण विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
यसै क्रममा, उनले जग्गा खरिद अभियानमा आफ्नो परिवारको तर्फबाट १ धुर बराबरको सहयोग गर्ने घोषणा गरेका थिए। उनीले सबैलाई मानव धर्म सेवा समितिलाई उन्नत बनाउन सहयोग गर्न आह्वान गरे।
प्रमुख कथावाचक चन्द्र प्रकाश भट्टराईको कथा प्रवचन र सप्ताहभरि हुने भजन-कीर्तन तथा आध्यात्मिक कार्यक्रमहरूले समाजमा एकता र सकारात्मक सोच फैलाउने आयोजकको विश्वास छ।

प्रतिक्रिया
No data Available