दुई वर्षपछि घरेलु मैदानमा नेपाली राष्ट्रिय टोली, आज बंगलादेशसँग प्रतिस्पर्धा
काठमाडौं । करिब दुई वर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदान दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको छ । फिफा विन्डोअन्तर्गत आज साँझ ५:३० बजे हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यस खेललाई दुवै टोलीका लागि आगामी एएफसी एसियन कप छनोटको तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले लामो समयपछि घरेलु दर्शकमाझ खेल्न पाउनु प्रेरणादायी भएको भन्दै खेल प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले पनि बंगलादेशलाई बलियो प्रतिद्वन्द्वीको रूपमा लिएको उल्लेख गर्दै टोलीले जितको लक्ष्यसहित मैदानमा उत्रने जानकारी दिएका छन् । उनले यस खेललाई क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसरका रूपमा लिएका छन् ।
यस्तै, बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले टोलीले पर्याप्त तयारी गरेको बताउँदै नेपालमा खेल्न पाउँदा उत्साहित भएको बताएका छन् । बंगलादेशी कप्तान जमाल भुयाले पनि यस मैत्रीपूर्ण खेललाई एसियन कप छनोटको तयारीका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल खेलिनेछन् । पहिलो खेल आज हुने छ भने दोस्रो खेल मंगलबार हुनेछ । एन्फाका अनुसार दुवै खेलको समग्र नतिजाका आधारमा विजेता घोषणा गरिनेछ । यदि स्पष्ट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंगो लगाइनेछ । विजेता टोलीले ट्रफी तथा पदक प्राप्त गर्नेछ ।
प्रतिक्रिया