भदौ २४ २०८३, बुधवार

गौरादह महिला फुटबलमा रथखोला एफसी फाइनलमा, प्रशिक्षक दाश भन्छन्– ‘उपाधिका लागि उत्कृष्ट प्रदर्शन गर्नेछौं’

गौरादह । झापाको गौरादहमा जारी प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३ मा पश्चिम बंगालको रथखोला एफसी फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा स्पर्श सामाजिक क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा रथखोला एफसीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको हो। प्रतियोगिताको उद्घाटन खेलमा समेत रथखोला एफसीले धरानको फेयर एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

फाइनल प्रवेशसँगै रथखोला एफसी उपाधिको बलियो दाबेदारका रूपमा देखिएको छ। टोलीको खेल प्रदर्शन, तयारी, प्रतियोगिताको अनुभव तथा फाइनलका लागि बनाइएको रणनीतिबारे रथखोला एफसीका प्रशिक्षक विद्युत दाशसँग विशेष कुराकानी गरिएको छ।

प्रशिक्षक दाशले प्रतियोगितामा आफ्नो टोलीले अपेक्षाअनुसार प्रदर्शन गरिरहेको बताउँदै फाइनलमा पनि उत्कृष्ट खेल प्रस्तुत गर्ने लक्ष्य रहेको बताएका छन्।

यसैबीच प्रतियोगिताअन्तर्गत भोलि आयोजक स्पर्श क्लब र मोरङको राङ्चा क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा दिउँसो ३ः३० बजे सुरु हुनेछ।

भोलिको खेलले फाइनलमा रथखोला एफसीसँग उपाधिका लागि भिड्ने दोस्रो टोलीको टुंगो लगाउनेछ। प्रतियोगिता गौरादहमा पहिलोपटक आयोजना गरिएको महिला फुटबल प्रतियोगिता हो, जसले स्थानीय क्षेत्रमा महिला फुटबलप्रति उत्साहसमेत बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार