गौरादह महिला फुटबलमा आयोजक स्पर्श क्लबको विजयी सुरुवात
गौरादह - गौरादहमा सञ्चालन भइरहेको महिला फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा आयोजक स्पर्श महिला फुटबल क्लब विजयी भएको छ। स्पर्शले गाईघाट महिला फुटबल क्लब उदयपुरलाई २–० गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफको तेस्रो मिनेटमै गाईघाटका खेलाडीले आफ्नै गोलपोस्ट क्षेत्रमा विपक्षी खेलाडीलाई फल गरेपछि स्पर्शले पेनाल्टीको अवसर पाएको थियो। स्पर्शकी खेलाडी अनिसा राईले पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेपछि टोलीले सुरुवाती अग्रता बनाएको थियो।
त्यसको करिब १० मिनेटपछि स्पर्शले दोस्रो गोल थप्दै खेलमा २–० को अग्रता बनाएको थियो। खेलमा गाईघाटका खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। तर प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा टोली पराजित हुन पुग्यो।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि थप गोल हुन सकेन। खेलको बाँकी समय स्पर्शले आफ्नो नियन्त्रणमा राख्दै २–० को जित सुनिश्चित गरेको थियो।
आइतबार वर्षाका कारण मैदान केही हिलो भएकाले खेलाडीलाई खेल्न केही असहज भएको बताइएको छ। सोमबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी स्पर्श क्लबकी समीक्षा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भएकी छन्।
प्रतियोगितामा आयोजक स्पर्श महिला फुटबल क्लबले जितसँगै आफ्नो उपस्थिति बलियो बनाएको छ।
प्रतिक्रिया