भदौ ०८ २०८३, सोमबार

डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

काठमाडौँ । ई-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ।

दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई-स्पोर्ट्सले उपाधि आफ्नो नाममा गरेको हो। उपाधिसँगै विजेता टोलीले ४ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।

देशभरबाट छनोट चरण पार गर्दै फाइनलका लागि आएका उत्कृष्ट १६ टोलीले भदौ ६ र ७ गते कभर्ड हलमा प्रतिस्पर्धा गरेका थिए। तीमध्ये डट्स ई-स्पोर्ट्सले प्रभावशाली प्रदर्शन गर्दै अन्य टोलीलाई पछि पार्दै च्याम्पियन बन्न सफल भएको हो।

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने १२ टोली ‘रोड टु पीएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गर्न सफल भएका छन्। यसले नेपाली ई-स्पोर्ट्स टोलीहरूलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने थप अवसर सिर्जना गरेको आयोजकले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो। नेपालमा ई-स्पोर्ट्सलाई राष्ट्रिय खेलकुदको संरचनाभित्र थप व्यवस्थित रूपमा अघि बढाउने प्रयासका रूपमा प्रतियोगितालाई हेरिएको छ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले ट्रफी तथा नगद पुरस्कार हस्तान्तरण गरे।

नेपालमा ई-स्पोर्ट्स क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ई-स्पोर्ट्स एसोसिएसनका सचिव आशिष दाहालले बताए।

उनका अनुसार यस्ता राष्ट्रियस्तरका प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक अनुभव र सम्भावनासमेत विस्तार गर्नेछ।

पब्जी मोबाइलजस्ता डिजिटल प्रतिस्पर्धात्मक खेलमा नेपाली युवाको आकर्षण बढिरहेका बेला राष्ट्रियस्तरको प्रतियोगिताले ई-स्पोर्ट्सलाई खेलकुदको नयाँ विधाका रूपमा स्थापित गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार