टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ आज अस्ट्रेलियन क्यापिटलविरुद्ध
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे सुरु हुनेछ।
नेपाल ‘ए’ आजको खेलमा दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ। नेपालले यसअघि होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको थियो।
प्रतियोगिताको सुरुआती दुई खेलमा भने नेपालले मिश्रित नतिजा निकाल्न सकेन। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको थियो।
तीन खेल खेलेको एसिटी भने अहिलेसम्म जितविहीन छ। उसले आफ्ना तीनै खेलमा हार व्यहोरेको छ। सेमिफाइनलको सम्भावना कायम राख्न नेपाललाई आजको खेल महत्वपूर्ण छ।

हाल नेपाल दुई अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ। त्यसैले बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै अंक थप्नु नेपाली टोलीका लागि आवश्यक देखिन्छ।
यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ टोलीको नेतृत्व अनिलकुमार शाहले गरिरहेका छन्। टोलीमा कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाह आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।
अन्तर्राष्ट्रिय स्तरका टोलीसँग प्रतिस्पर्धा गर्दै आएका नेपाली खेलाडीका लागि टप एन्ड टी–२० सिरिज आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको छ। आजको खेलमा जित निकाल्न सके नेपाल ‘ए’को सेमिफाइनल यात्राको सम्भावना थप बलियो बन्नेछ।
प्रतिक्रिया