पोखराको पर्यटनमा पुनरुत्थान, होटलहरूमा ९० प्रतिशतसम्म बुकिङ
९ कात्तिक, पोखरा।
केही समयदेखि सुस्त रहेको पोखराको पर्यटन अहिले पुनः जीवित बनेको छ। दशैं–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमका कारण पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। यसले होटल, रेस्टुरेन्ट र साहसिक गतिविधि सञ्चालनमा रहेका व्यवसायीमा उत्साह भरिएको छ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अहिले लेकसाइडका करिब ९० प्रतिशत होटलमा पाहुनाको बुकिङ भएको छ। उनले भने, “लामो बिदा र अनुकूल मौसमका कारण पोखरा हुँदै अन्नपूर्ण पदयात्रा र मुस्ताङ भ्रमणमा निस्कने आन्तरिक तथा विदेशी पर्यटकको संख्याले पर्यटन क्षेत्रमा पुनः ऊर्जा भरेको छ।”

पोखराको पर्यटन क्षेत्रमा हाल करिब रु. ८ खर्ब बराबरको लगानी भएको छ। सोमध्ये करिब रु. ६ खर्ब होटल व्यवसायमै लगानी गरिएको छ भने प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित छन्। पोखरामा हाल १२०० पर्यटकीयस्तरका होटल सञ्चालनमा छन्, जसमा ७०० होटल लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन्। यी होटलहरूले एकैपटक करिब ४० हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता राख्छन्।
पोखरा नेपालकै प्रमुख पदयात्रा प्रवेशद्वार पनि हो। अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल, घोरेपानी–पुनहिलजस्ता विश्वप्रसिद्ध पदमार्ग यहीँबाट सुरु हुने गर्छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यका अनुसार हाल दैनिक एक हजारभन्दा बढी विदेशी र चार हजारभन्दा बढी नेपाली ट्रेकर अन्नपूर्ण क्षेत्रमा प्रवेश गर्ने गरेका छन्। टानले हालै अन्नपूर्ण नर्थ ‘मौरिस हर्जोग ट्रेल’ नामक नयाँ पदमार्गको प्रवर्द्धन गरेको छ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पनि लामो समयपछि पर्यटकको चहलपहल बढेको बताउँदै भने, “तिहारमा पर्यटकको आगमनले रेस्टुरेन्ट र बार व्यवसायमा नयाँ ऊर्जा भरेको छ।”
पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पर्यटनमा देखिएको हालको वृद्धि स्थायी बनाउन दीर्घकालीन योजना आवश्यक रहेको बताए। उनका अनुसार सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर दिगो पर्यटन रणनीति अवलम्बन गर्नुपर्छ।

पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको अनुपम गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। फेवाताल, सराङकोट, विश्वशान्ति स्तूपा, डेभिस फल्स, गुप्तेश्वर गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय जस्ता आकर्षणले पर्यटकलाई लोभ्याउने गरेका छन्। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया