वर्षौंदेखि रोकिएको लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रमार्फत सुरु, सामान्य सेवाग्राहीलाई अझै प्रतीक्षा
काठमाडौं।
वर्षौंदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम अन्ततः सुरक्षण मुद्रण केन्द्रमार्फत सुरु भएको छ। यातायात व्यवस्था विभागको उपकरण जलेर नष्ट भएपछि छपाइ रोकिँदा राजस्व तिरेर बसेका लाखौँ सेवाग्राही प्रभावित भएका थिए।
सुरक्षण मुद्रण केन्द्रले सुरुआतमा दैनिक करिब ५ सय कार्ड छाप्ने क्षमतासहित काम थालिएको जनाएको छ। तर विभागका तथ्यांकअनुसार करिब ३० लाख सेवाग्राहीले अझै स्मार्ट कार्ड पाएका छैनन्। विभागले गत वर्षभन्दा पहिले दैनिक ७ सय कार्ड छाप्दै आएको थियो।

यातायात व्यवस्था विभागमा भदौ २३/२४ मा भएको आगजनीबाट पुराना मेसिन र उपकरण जलेर क्षति पुगेपछि विभागले छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिएको हो। केन्द्रसँग १२ लाख लाइसेन्स ६ महिनाभित्र छाप्ने सम्झौता सभापतिबाट सम्पन्न भए पनि छपाइ कार्य सुचारु हुन ढिलो भएको विभागले स्वीकारेको छ।
छपाइ सुरु भएको घोषणा भए पनि नियमित उत्पादन हुन नसकेकाले आम सेवाग्राहीको समस्या यथावत् छ।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार पुरानो डेटालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न ‘ब्रिजिङ’ आवश्यक भएकाले छपाइ ढिला भएको हो।

“कार्ड डिजाइन फाइनल भइसकेको छ। तर पुरानो प्रणालीको डेटा नयाँ छपाइ मेसिनसँग मिलाउन एप्लिकेसन तयार भइरहेको छ,” – निर्देशक तिवारी
डेटा उपलब्ध भएकासाथ रोकिएको लाइसेन्स क्रमशः छापिने विभागको भनाइ छ।

विदेश जाने, अध्ययन वा शान्ति मिसनका लागि लाइसेन्स चाहिने सेवाग्राहीले अब केही दिनमै भौतिक रूपमा निवेदन दिएर लाइसेन्स पाउन सक्नेछन्।
‘अर्जेन्ट लाइसेन्स छपाइ सम्बन्धी कार्यविधि–२०८१’ अनुसार सुरक्षण मुद्रण केन्द्रबाट दैनिक ५००–७०० कार्ड छापिने छ।
अहिले विभागको वेबसाइट सञ्चालनमा नभएकाले निवेदन अनलाइनमार्फत होइन, केवल कार्यालयमै दिनुपर्नेछ।
सरकारले सवारी लाइसेन्सको वैधता अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाएको छ।
अब सुरक्षण मुद्रण केन्द्रमार्फत छापिने सबै लाइसेन्समा १० वर्षे म्याद उल्लेख हुनेछ।
जसको लाइसेन्स नबन्नु–नवीकरण नहुँदै म्याद गुज्रिएको छ, ती सेवाग्राहीको विवरण ‘सिस्टममै जीवित’ रहने विभागले जनाएको छ। उनीहरूले नागरिक एपबाट डिजिटल लाइसेन्स प्रयोग गर्न सक्नेछन्।
भौतिक कार्ड उपलब्ध हुँदा नयाँ १० वर्षे म्यादसहित हस्तान्तरण गरिनेछ।
प्रतिक्रिया