आश्विन ०९ २०८३, शुक्रबार

कहिले सर्दुमा, कहिले दुम्लिङमा, कहिले भोटेकोशीमा - देशको माटोमा पसिना बगाउँदै हर्क साम्पाङ

धरानदेखि दार्चुला र रसुवासम्म पुगेर श्रममा जुटिरहेका हर्क साम्पाङको अभियानले विकाससँगै श्रम र स्वावलम्बनको बहसलाई पनि जोड दिएको छ

 

पर्दाफास संवाददाता ।
धरानको सर्दु होस् वा दार्चुलाको दुम्लिङ, रसुवाको भोटेकोशी होस् वा देशका अन्य भूभाग—हर्क साम्पाङको सार्वजनिक जीवनमा श्रम र माटोसँग जोडिएका दृश्यहरू बारम्बार देखिँदै आएका छन्।

कहिले विकास निर्माणका काममा आफैं सहभागी भएर, कहिले स्थानीयसँगै श्रम गर्दै र कहिले दुर्गम भूगोलमा पुगेर काममा जुट्दै साम्पाङले आफ्नो राजनीतिक यात्रालाई श्रमसँग जोड्ने प्रयास गर्दै आएका छन्।

‘कहिले बग्यो पसिना धरानको सर्दुमा, कहिले बग्यो पसिना दुम्लिङ दार्चुलामा, कहिले बग्यो पसिना रसुवाको भोटेकोशीमा’ भन्ने अभिव्यक्तिले उनको यही श्रममुखी अभियानलाई प्रतिबिम्बित गर्छ।

पूर्वदेखि पश्चिमसम्म पुगेर माटोमै पसिना बगाउने उनको शैलीले सामाजिक सञ्जालमा समेत चर्चा पाउने गरेको छ। सार्वजनिक पद र राजनीतिक भूमिकालाई केवल भाषण र निर्णयमा सीमित नराखी प्रत्यक्ष श्रमसँग जोड्नुपर्ने उनको धारणा उनका गतिविधिमा देखिन्छ।

‘आखिर किन बग्छ पसिना यो देशको माटोमा, इन्च–इन्च माटोमा ?’ भन्ने प्रश्नसँगै साम्पाङको अभियानले विकास निर्माणमा नागरिक सहभागिता, श्रमको सम्मान र स्थानीय स्रोतको उपयोगबारे बहससमेत अघि सारेको छ।

धरानबाट सुरु भएको उनको श्रम अभियानको प्रभाव र सन्देश देशका अन्य भूभागसम्म कसरी फैलिन्छ भन्ने विषय भने आगामी दिनमा थप चासोको विषय बन्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार