भदौ ३१ २०८३, बुधवार

“मौलापुर नगरपालिका संकटमा!” मेयर साहको प्रधानमन्त्री शाहलाई पाँचबुँदे अपिल

रौतहट। रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले नगरपालिका प्रशासनिक तथा आर्थिक संकटमा परेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएकी छन्।

प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै नगर प्रमुख साहले पाँचबुँदे अपिल सार्वजनिक गर्दै कर्मचारीको तलब, जनप्रतिनिधिको सुविधा, विकास आयोजनाको भुक्तानी, विद्युत् महसुल, सरसफाइ तथा नगरपालिकाका दैनिक सेवा सञ्चालनमा समस्या उत्पन्न भएको उल्लेख गरेकी छन्।

नगरपालिकामा समयमा प्रमुख प्रशासकीय अधिकृत नखटाइएको र संघीय सरकारको हस्तक्षेपका कारण प्रशासनिक काम प्रभावित भएको साहको आरोप छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका हाकिमविहीन अवस्थामा पुगेको भन्दै उनले तत्काल स्थायी प्रमुख प्रशासकीय अधिकृत उपलब्ध गराउन प्रधानमन्त्री शाहसँग माग गरेकी छन्।

नगर प्रमुख साहले कर्मचारीको पारिश्रमिक लामो समयदेखि रोकिएको दाबीसमेत गरेकी छन्। उनका अनुसार केही कर्मचारीको तलब दुई महिनादेखि आठ महिनासम्म भुक्तानी हुन सकेको छैन। त्यस्तै, जनप्रतिनिधिको सुविधा चार महिनादेखि तथा वडा सञ्चालन खर्च आठ महिनादेखि भुक्तानी हुन बाँकी रहेको उनले अपिलमा उल्लेख गरेकी छन्।

नगरपालिकाको आर्थिक समस्या कर्मचारीको पारिश्रमिकमा मात्र सीमित नरहेको उनको भनाइ छ। विकास आयोजनाको भुक्तानी, विद्युत् महसुल, सरसफाइ तथा दैनिक प्रशासनिक सेवा सञ्चालनमा समेत समस्या देखिएको उनले बताएकी छन्।

प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै साहले आफ्नो अपिलमा व्यंग्यात्मक शैलीसमेत अपनाएकी छन्।

उनले लेखेकी छन्, “तपाईं महानगरका नगर प्रमुख हुँदा सफाइ कर्मचारीहरूको तलब भुक्तानी एक हप्ताभित्र नभए सबैलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिनुभएको थियो। मेरा कर्मचारीहरूको तलब दुई महिनादेखि आठ महिनासम्म, जनप्रतिनिधिहरूको सुविधा चार महिना र वडा सञ्चालन खर्च आठ महिनादेखि भुक्तानी हुन बाँकी रहेको छ। यसका लागि कस–कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ।”

नगर प्रमुख साहको यो अभिव्यक्ति मौलापुर नगरपालिकामा देखिएको आर्थिक तथा प्रशासनिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराउने प्रयासका रूपमा आएको हो।

उनले संघीय सरकार र स्थानीय तहबीचको समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नगरपालिकालाई आवश्यक प्रशासनिक नेतृत्व उपलब्ध गराउन माग गरेकी छन्। स्थायी प्रमुख प्रशासकीय अधिकृतको अभावमा स्थानीय सरकारका नियमित कामसमेत प्रभावित भएको उनको दाबी छ।

स्थानीय तहको दैनिक प्रशासनदेखि विकास निर्माण र कर्मचारी व्यवस्थापनसम्म प्रत्यक्ष असर पर्ने प्रमुख प्रशासकीय अधिकृतको पद लामो समय रिक्त रहँदा सेवा प्रवाहमा समस्या आउने भन्दै साहले तत्काल समाधान खोज्न प्रधानमन्त्री शाहसमक्ष आग्रह गरेकी छन्।

मौलापुर नगरपालिकाले भोगिरहेको भनिएको आर्थिक तथा प्रशासनिक संकट समाधानका लागि संघीय सरकारबाट आवश्यक सहयोग र समन्वय हुने अपेक्षा नगर प्रमुख साहले गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार