झापा प्रशासनका सात सेवा अब ‘फेसलेस’, कार्यालय धाउन नपर्ने
झापा । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीमार्फत उपलब्ध गराउन थालेको छ। कार्यालयले प्रविधिको प्रयोग गर्दै सामान्य सेवाका लागि सेवाग्राही स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटाउने व्यवस्था गरेको हो।
कार्यालयका अनुसार परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक पर्व, जात्रा, उत्सव तथा मेला सञ्चालनको अनुमति र शान्ति सुरक्षासम्बन्धी सेवा, राजनीतिक तथा सामाजिक कार्यक्रमसम्बन्धी जानकारी, अनुमति तथा शान्ति सुरक्षासम्बन्धी सेवा, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्रको अवस्था बुझ्ने, राहदानीको अवस्था बुझ्ने तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी सेवा फेसलेस प्रणालीबाट लिन सकिनेछ।
यी सेवामध्ये केहीका लागि जिल्ला प्रशासन कार्यालयले वेबसाइटमा उपलब्ध गराएको अनलाइन लिंक प्रयोग गर्न सकिनेछ भने केही सेवाका लागि डेडिकेटेड इमेल, ह्वाट्सएप तथा अन्य विद्युतीय माध्यम प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ।
सेवा लिन चाहने व्यक्ति वा संस्थाले सम्बन्धित सेवा माग गर्दै निवेदन दिनुपर्नेछ। निवेदनमा आफ्नो इमेल वा ह्वाट्सएप नम्बर उल्लेख गर्नुपर्नेछ। माग गरिएको सेवासँग सम्बन्धित जानकारी, आवश्यक कागजात तथा जवाफसमेत सम्बन्धित माध्यमबाटै उपलब्ध गराउने व्यवस्था गरिएको छ।
फेसलेस सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले छुट्टै हेल्प डेस्क समेत सञ्चालनमा ल्याएको छ। कार्यालयले सेवाग्राहीलाई आवश्यक सहजीकरण तथा सेवासम्बन्धी जानकारी उपलब्ध गराउने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार प्रविधिको प्रयोगमार्फत सेवाग्राही र सेवा प्रदायकबीचको दूरी घटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले फेसलेस सेवा सुरु गरिएको हो।
यस व्यवस्थाले सामान्य सेवाका लागि सेवाग्राहीले पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने, समय तथा खर्च बचत गर्ने र कार्यालयमा हुने भीडभाड घटाउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय झापाको आधिकारिक वेबसाइटमा ‘Faceless सेवा’ सम्बन्धी व्यवस्था राखिएको छ। कार्यालय भद्रपुरमा रहेको छ र कार्यालयको सम्पर्क नम्बर ०२३–४५२१२५ रहेको छ।
प्रतिक्रिया