ईडीएलभिआरएसमार्फत लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ लाइसेन्स छापिए
नयाँ प्रणालीबाट विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने, प्रदेशअनुसार छपाइ व्यवस्थापन गरिने
काठमाडौँ। सरकारले लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको यातायात व्यवस्था विभागले जनाएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्ने उद्देश्यले साउन १ गतेदेखि ईडीएलभिआरएस कार्यान्वयनमा ल्याएको हो।
नयाँ प्रणालीअनुसार नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीको विवरण ईडीएलभिआरएसमा अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ। सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरेपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ।
यसअघि लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको ढिलाइ र व्यवस्थापनसम्बन्धी समस्या नयाँ प्रणालीबाट कम हुने विभागको अपेक्षा छ।
व्यवस्थाअनुसार सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्नेछन्। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ।
त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको विभागले जनाएको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको छ।
नयाँ प्रणाली कार्यान्वयनसँगै प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गरी सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था अघि बढाइएको विभागले जनाएको छ।
प्रतिक्रिया