आश्विन ०३ २०८३, शनिबार

प्रधानमन्त्री शाह : ‘सहिदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ’

प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यलाई राष्ट्रिय जीवनका आधारका रूपमा व्याख्या गरे। संविधानले विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, विकास, समृद्धि र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसलाई कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताए पुरा समाचार

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनलाई व्यवहारमै प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यलाई राष्ट्रिय जीवनका आधारका रूपमा व्याख्या गरे। संविधानले विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, विकास, समृद्धि र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसलाई कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताए।

उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र इमानदार र सक्रिय नभए संविधान कागजमा सीमित हुन सक्ने बताए। भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको उल्लेख गर्दै शाहले त्यसविरुद्ध सरकार दृढताका साथ अघि बढिरहेको दाबी गरे।

सुशासनका लागि प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक क्षेत्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरिएको उनले बताए। उनका अनुसार सुशासनलाई नारामा सीमित नभई व्यवहारमा कार्यान्वयन गर्ने सरकारको प्रयास छ।

प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा विकासको साझा उद्देश्य हासिल गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताए।

उनले प्रविधिको प्रयोगमार्फत सुशासनलाई थप प्रभावकारी बनाउने सरकारको योजना पनि अघि सारे। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा, नवप्रवर्तन र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य रहेको उनले बताए। राष्ट्रिय डिजिटल पूर्वाधारलाई त्यसको आधारका रूपमा विकास गरिने उनको भनाइ छ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। विपद् उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा नागरिकप्रति उनले धन्यवाद व्यक्त गरे।

नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै शाहले विपद् आइसकेपछि मात्र नभई पूर्वतयारीमै जोड दिने बताए। जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकतामा राख्दै विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने उनले घोषणा गरे।

प्रधानमन्त्री शाहले संविधान दिवसलाई केवल संविधान जारी भएको दिनका रूपमा नभई यसको मर्म र भावनालाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहोर्‍याउने अवसरका रूपमा लिनुपर्ने बताए।

उनले भने, “संविधान जारी भएको दिन हरेक वर्ष आउँछ। तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ—हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट।”

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारका हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहने बताए।

सम्बोधनको अन्त्यमा उनले भने, “सहिदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ।”

प्रतिक्रिया

सम्बन्धित समाचार