माघ २९ २०८२, बुधवार

चार महिनामा तेल, दाल र चिउराको मूल्य बढ्यो, केही वस्तु भने सस्ता

Ads

१५ कात्तिक, काठमाडौं।
बजारमा पछिल्ला चार महिनामा केही खाद्यवस्तुको मूल्य वृद्धि भएको छ भने केही वस्तु सस्ता भएका छन्। नेपाल खुद्रा व्यापार संघका अनुसार १ साउनदेखि १ कात्तिकसम्मको अवधिमा तेल, दाल, चिउरा, चना र केराउको मूल्य बढेको देखिएको छ।

संघका तथ्यांकअनुसार काँचो तोरी तेलको मूल्य प्रतिलिटर ३२५ रुपैयाँबाट बढेर ३६० रुपैयाँ पुगेको छ। सोही अवधिमा भुटेको तोरी तेल ४१० बाट ४३० रुपैयाँ, सनफ्लावर तेल २४० बाट २५० रुपैयाँ र भटमास तेल २२० बाट २२५ रुपैयाँ पुगेको छ।

Ads

त्यस्तै ताइचिन चिउरा प्रतिकिलो १७० बाट १९०, चना दाल १६० बाट १७०, मुसुरो दाल १६५ बाट १७५, सानो चना, सेतो केराउमस्याङको मूल्य पनि समान रूपमा १०–१० रुपैयाँले वृद्धि भएको संघले जनाएको छ। मकैको पिठो प्रतिकिलो ८० बाट ८५ रुपैयाँ पुगेको छ।

तर, सबै वस्तु महँगिएका छैनन्। संघको तथ्यांकअनुसार जिरा, ज्वानो, राजमा र मुङ गेडा जस्ता वस्तुको मूल्य घटेको छ। जिरा ५५० बाट ५१५, ज्वानो ५९० बाट ५७५, राजमा २७० बाट २५० र मुङ गेडा २०० बाट १९० रुपैयाँमा झरेका छन्।

Ads

यस अवधिमा डाल्डा घिउ पनि २५० बाट घटेर २४० रुपैयाँमा कायम भएको छ।

संघका अनुसार चामल र मसला पाउडरका मूल्य भने स्थिर छन्। त्रिशूली पोखरेली चामल १२० रुपैयाँ, स्टिम जिरा मसिनो ९५ रुपैयाँ, स्टिम सोना ७० रुपैयाँ र लङग्रेन बास्मती १७० रुपैयाँ प्रतिकिलोमा यथावत छन्।

Ads

त्यस्तै खुर्सानी, जिरा, धनियाँ र बेसार पाउडरको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन।

उपभोक्ताहरूको भनाइमा होलसेल बजारमा मूल्य घटे पनि खुद्रा बजारमा महँगो कायम रहेको छ। उनीहरूले बजार अनुगमन कडा गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार