फाल्गुण ०३ २०८२, आइतबार

कविता:-'म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु'

Ads

म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ झण्डा बोकेर होइन,
विचार बोकेर सडकमा उत्रिन्छौं,
जहाँ तालीभन्दा गहिरो
जनताको प्रश्नको आवाज सुनिन्छ।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ इतिहास पूजा होइन,
इतिहासबाट पाठ सिकिन्छ,
जहाँ बी.पी. किताबमा मात्र होइन
नीति, निष्ठा र व्यवहारमा बाँचिरहन्छन्।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ अग्रजको अनुभव
संग्रहालयमा थन्किँदैन,
र युवाको उर्जा
नारा मै सकिँदैन—
दुवै मिलेर निर्णय गर्छन्।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ पुस्तान्तरण डर होइन,
स्वाभाविक प्रक्रिया हो,
जहाँ कुर्सी छोड्नु हार होइन,
योग्यलाई बाटो खोल्नु नै जीत हो।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ प्रश्न सोध्ने कार्यकर्ता
‘अनुशासनहीन’ ठहरिँदैन,
र जवाफ नदिने नेता
‘अनिवार्य’ मानिँदैन।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ “हामीले के गर्‍यौं ?”
भन्ने प्रश्न बारम्बार उठ्छ,
र “के गर्न सकेनौं”
भन्ने स्वीकारोक्ति
कमजोरी होइन, शक्ति ठानिन्छ।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ सहिदको नाम
भाषणको सजावट होइन,
निर्णयको मापदण्ड बनोस्,
जहाँ जेल, निर्वासन र त्याग
इतिहासमा होइन,
राजनीतिक चरित्रमा देखियोस्।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ संगठन
व्यक्तिको वरिपरि होइन,
सिद्धान्तको वरिपरि घुमोस्,
जहाँ नातावाद होइन,
योग्यता र इमान्दारिताको शासन होस्।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ सत्ता
लक्ष्य होइन, माध्यम हो,
जहाँ चुनाव जितेपछि होइन,
हारेपछि पनि
जनताको साथ नछोडियोस्।
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जहाँ अग्रजको आशीर्वाद
आदेश होइन, भरोसा होस्,
जहाँ युवाको असन्तोष
विद्रोह होइन, सुधारको संकेत होस्।
अन्ततः,
म यस्तो नेपाली कांग्रेस बनाउन चाहन्छु
जसले अतीतको त्यागलाई
नम्रतासाथ निहुरेर सम्झियोस्,
वर्तमानका प्रश्नसँग
आँखा जुधाएर उभियोस्,
र भविष्यको पुस्तालाई
निराशा होइन,
लोकतन्त्रप्रतिको गर्व सुम्पियोस्।
यही मेरो सपना हो
नेपाली कांग्रेस होइन,
लोकतन्त्रको जिउँदो आत्मा।

प्रतिक्रिया

सम्बन्धित समाचार