असार २३ २०८३, मंगलबार

गौरादहमा ऐतिहासिक महिला फुटबल खेल आयोजना हुने

Ads

 

पर्दाफास/ असार २२, झापा। गौरादहको खेल इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित स्पर्श सामाजिक क्लब, गौरादह ले “प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ। महिला खेलाडीलाई प्रोत्साहन गर्ने मात्र होइन, खेलकुदलाई सामाजिक रूपान्तरणको अभियानसँग जोड्ने लक्ष्यका साथ प्रतियोगिताको घोषणा गरिएको हो।
पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आयोजकले प्रतियोगिताको मिति, पुरस्कार, उद्देश्य तथा तयारीबारे जानकारी दिएको छ। प्रतियोगिता भदौ १९ गते (शुक्रबार) देखि गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताको मूल उद्देश्य महिला फुटबलको विकास, महिला खेलाडीको प्रतिभालाई उचित सम्मान तथा खेलकुदमार्फत लागूऔषधविरुद्ध जनचेतना फैलाउनु हो। “गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प” भन्ने मूल नाराले प्रतियोगिताको सामाजिक सन्देशलाई स्पष्ट रूपमा उजागर गरेको छ।
खेल संयोजक युवराज खड्का का अनुसार प्रतियोगितामा विजेता टोलीलाई रु. १,११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी उपविजेता टोलीले रु. ५५,५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
टिमगत पुरस्कारसँगै व्यक्तिगत उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीलाई पनि विशेष सम्मान गरिने भएको छ। प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर तथा हाई स्कोरर विधामा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
स्पर्श सामाजिक क्लबका अध्यक्ष उज्ज्वल दाहाल ले प्रतियोगितालाई गौरादहकै ऐतिहासिक महिला खेलकुद महोत्सवका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले खेलप्रेमी, स्थानीयवासी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था, प्रायोजक तथा सञ्चारमाध्यमलाई प्रतियोगिताको सफल आयोजनाका लागि सक्रिय सहयोग र सहभागिताको आग्रह गर्नुभयो।
उहाँका अनुसार यो प्रतियोगिता केवल फुटबल प्रतिस्पर्धामा सीमित रहने छैन; यसले महिला खेलाडीलाई आत्मविश्वास, अवसर र पहिचान दिलाउने माध्यम बन्नेछ। साथै गौरादहलाई महिला खेलकुदको केन्द्रका रूपमा परिचित गराउँदै खेल पर्यटन, सामाजिक एकता र स्वस्थ समाज निर्माणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास आयोजकको छ।
लामो समयदेखि पुरुष फुटबल केन्द्रित गतिविधि भइरहेका गौरादहमा पहिलोपटक आयोजना हुन लागेको यो महिला फुटबल प्रतियोगिताले स्थानीय खेलकुदको दायरा फराकिलो बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताले प्रतिभावान महिला खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउनुका साथै नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्ने र लागूऔषधजस्ता सामाजिक विकृतिविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार