श्रावण २५ २०८३, सोमबार

सिड्नी विमानस्थलमा ठूलो दुर्घटना टर्‍यो : दुई विमान ठोक्किनबाट केही मिटरले जोगिए

सिड्नी । अष्ट्रेलियाको सिड्नी विमानस्थलमा आइतबार बिहान दुई ठूला विमान एकआपसमा ठोक्किनबाट केही मिटरको दूरीमा जोगिएका छन्। रनवे जाने क्रममा रहेको जेटस्टारको एयरबस A320 र ट्याक्सी गरिँदै गरेको कतार एयरवेजको बोइङ 777 एउटै ट्याक्सीवे इन्टरसेक्सनमा अत्यन्तै नजिक पुगेपछि विमानस्थलमा ठूलो दुर्घटनाको सम्भावना टरेको हो।

घटना बिहान करिब ७ः२० बजे भएको हो। गोल्ड कोस्टका लागि उड्न लागेको जेटस्टारको विमानमा १०० भन्दा बढी यात्रु सवार थिए। त्यही समयमा कतार एयरवेजको बोइङ 777 लाई टगमार्फत अर्को दिशामा सारिँदै थियो।

दुवै विमान एकअर्काको निकै नजिक पुगेपछि जेटस्टारका पाइलटले आकस्मिक रूपमा ब्रेक लगाए। विमानमा रहेका यात्रुहरू अचानक अगाडि धकेलिँदा केही समयका लागि त्रासको वातावरण सिर्जना भएको थियो।

‘एक्कासि विमानले ब्रेक लगायो र हामी ठ्याक्कै रोकियौँ,’ एक यात्रुले घटनापछि बताएका छन्।

अर्की यात्रु क्यासीका अनुसार विमान अचानक रोकिँदा यात्रुहरू अगाडि उछिट्टिएका थिए। ‘विमानले अचानक ब्रेक लगायो र सबैजना अगाडि उडेजस्तो भए,’ उनले घटनाको अनुभव सुनाइन्।

अचानक ब्रेक लगाएपछि जेटस्टार विमानमा अन्तिम उडानपूर्व जाँच गरिरहेकी एक महिला क्याबिन क्रू सदस्य लडिन्। उनको हातको नाडीमा सामान्य चोट लागेको बताइएको छ। उनलाई उपचारका लागि स्वास्थ्यकर्मीसमक्ष लगिएको थियो।

विमानमा रहेका अन्य यात्रु भने घाइते भएनन्।

कतार एयरवेजको विमानमा भने त्यस समयमा यात्रु नरहेको प्रारम्भिक जानकारी छ। विमानलाई टगले तानिरहेको अवस्थामा घटना भएको थियो। आकस्मिक रोकाइपछि बोइङ 777 को अगाडिको भाग र टग जोड्ने उपकरणमा क्षति पुगेको र विमानलाई तत्काल त्यहाँबाट सार्न नसकिएको बताइएको छ।

घटनापछि सुरुमा जेटस्टारका यात्रुलाई विमान रोकिएको कारण ‘मेडिकल इमर्जेन्सी’ भएको भन्दै इमेल पठाइएको थियो। तर पछि पाइलटले यात्रुलाई वास्तविक घटनाबारे जानकारी दिएका थिए।

पाइलटका अनुसार अर्को विमानलाई ‘होल्ड सर्ट’ अर्थात् निश्चित स्थानमै रोकिन निर्देशन दिइएको थियो। तर त्यसको पालना नभएपछि जेटस्टारको विमानले ट्याक्सीवे हुँदै रनवे पार गर्ने क्रममा ठूलो विमानसँग नजिकिनुपरेको थियो।

पाइलटले विमानको अत्यन्त नजिक रहेको बोइङ 777 लाई ध्यानमा राख्दै सुरक्षा सवारीसाधन उपलब्ध गराउन आफूले सुझाव दिएको पनि बताएका थिए।

घटनापछि अष्ट्रेलियाको राष्ट्रिय यातायात सुरक्षा अनुसन्धान निकाय Australian Transport Safety Bureau (ATSB) ले औपचारिक अनुसन्धान सुरु गरेको छ।

ATSB का अनुसार जेटस्टार A320 का चालक दलले क्रसिङ ट्याक्सीवेमा कतार एयरवेजको ठूलो बोइङ 777 देखेपछि दुवै विमान अचानक रोकिएका थिए।

अनुसन्धानकर्ताले दुवै विमानबाट उपलब्ध तथ्यांक संकलन गर्नुका साथै एयर ट्राफिक कन्ट्रोल, विमान चालक दल, टग सञ्चालक तथा घटनाका प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने भएका छन्। विमानस्थलमा रहेका CCTV लगायतका रेकर्डिङसमेत अनुसन्धानको हिस्सा बन्नेछन्।

ATSB ले घटनाको भिडियो खिचेका व्यक्तिहरूलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।

जेटस्टारले आफ्नो विमान एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार अघि बढिरहेको दाबी गरेको छ। कम्पनीका अनुसार अर्को विमान अत्यन्त नजिक आएपछि आफ्ना पाइलटले आकस्मिक रूपमा ब्रेक लगाउनुपरेको थियो।

घटनापछि गोल्ड कोस्टका लागि तय गरिएको जेटस्टारको उडान रद्द गरिएको छ। यात्रुहरूलाई त्यसै दिन पछि सञ्चालन हुने अन्य उडानमा व्यवस्थापन गर्ने व्यवस्था गरिएको थियो।

सिड्नी विमानस्थलमा यसअघि नै उडान व्यवस्थापनसम्बन्धी समस्या देखिएको अवस्थामा यो घटनाले थप दबाब सिर्जना गरेको छ।

Airservices Australia ले घटनापछि सिड्नी किङ्सफोर्ड स्मिथ विमानस्थलमा उडान तथा प्रस्थान व्यवस्थापनलाई सुरक्षित बनाउन Air Traffic Flow Management (ATFM) उपाय लागू गरिएको जनाएको छ। यसअन्तर्गत विमानको प्रस्थानबीच आवश्यक दूरी कायम गर्ने व्यवस्था गरिएको छ।

सिड्नी विमानस्थलको ट्याक्सीवेमा भएको यो घटना सामान्य प्राविधिक समस्या मात्र नभई विमानस्थल सुरक्षाको गम्भीर प्रश्न बनेको छ। १०० भन्दा बढी यात्रु बोकेको एउटा विमान र यात्रुविहीन भए पनि विशाल बोइङ 777 एउटै क्षेत्रमा यति नजिक पुग्नुले एयर ट्राफिक कन्ट्रोल, ट्याक्सीवे सञ्चालन र जमिनमा विमान व्यवस्थापन प्रणालीबारे प्रश्न उठाएको छ।

अहिले सबैभन्दा ठूलो प्रश्न भनेको दुवै विमान एकै समयमा एउटै इन्टरसेक्सनमा कसरी पुगे ? भन्ने हो।

यसको जवाफ अनुसन्धानबाट मात्रै खुल्नेछ। तर तत्कालका लागि पाइलटले समयमै ब्रेक नलगाएको भए सिड्नी विमानस्थलमा एउटा गम्भीर हवाई दुर्घटनाको इतिहास थपिन सक्ने अवस्था देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार