श्रावण २० २०८३, बुधवार

अमेरिकी सिनेटको दबाब : भेनेजुएलामा छिट्टै स्वतन्त्र निर्वाचन गराउन माग

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएर अन्तरिम प्रशासन गठन गरेको सात महिनापछि अमेरिकी सिनेटमा भेनेजुएलामा छिटो, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनुपर्ने माग पुनः उठेको छ।

रिपब्लिकन सिनेटर टेड क्रुज र डेमोक्र्याट सिनेटर जिन शाहीनले संयुक्त रूपमा प्रस्ताव दर्ता गर्दै भेनेजुएलाका नागरिकलाई लोकतान्त्रिक रूपमा आफ्नो नेतृत्व चयन गर्ने अवसर सुनिश्चित गर्नुपर्ने बताएका छन्।

प्रस्तावमा राजनीतिक बन्दीहरूको तत्काल रिहाइ, विपक्षी नेतामाथिको दमन अन्त्य तथा निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ। उनीहरूले उच्च सरकारी अधिकारीहरू समेत कानुनभन्दा माथि नहुने स्पष्ट सन्देश दिएका छन्।

उक्त प्रस्ताव ट्रम्प प्रशासनले भेनेजुएलामा लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउन अपेक्षाअनुसार प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना बढिरहेका बेला आएको हो।

हाल देशको अन्तरिम प्रशासनको नेतृत्व कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज ले गरिरहेकी छन्। यद्यपि अन्तरिम सरकार गठन भएको महिनौँ बितिसक्दा पनि नयाँ निर्वाचनको मिति तय हुन सकेको छैन।

सरकार र विपक्षी समूहको एक पक्षबीच केही दिनभित्र राजनीतिक वार्ता सुरु हुने तयारी भए पनि चर्चित विपक्षी नेतृ मारिया कोरिना माचाडो भने त्यसमा सहभागी नहुने बताइएको छ।

सिनेटर टेड क्रुजले भेनेजुएलाका जनताले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचन पाउनु लोकतन्त्रका लागि मात्र होइन, अमेरिकाको राष्ट्रिय सुरक्षाका दृष्टिले समेत महत्वपूर्ण रहेको बताएका छन्।

त्यसैगरी सिनेटर जिन शाहीनले सबै राजनीतिक बन्दीलाई रिहा गर्न र निर्वासनमा रहेका विपक्षी नेताहरूलाई सुरक्षित रूपमा स्वदेश फर्केर राजनीतिक गतिविधिमा सहभागी हुने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

नोबेल शान्ति पुरस्कार विजेता तथा प्रमुख विपक्षी नेतृ मारिया कोरिना माचाडो गत वर्षको अन्त्यतिर नोबेल पुरस्कार ग्रहण गर्न देश बाहिर गएकी थिइन्। विवादास्पद सन् २०२४ को राष्ट्रपतीय निर्वाचनपछि उनी लामो समय भूमिगत जीवन बिताएकी थिइन्।

हालै आएको विनाशकारी दोहोरो भूकम्पपछि राहत तथा पुनःस्थापनामा सहभागी हुन उनी स्वदेश फर्कन इच्छुक रहे पनि अमेरिकी अधिकारीहरूले तत्काल फिर्ती उपयुक्त नहुने संकेत दिएका छन्।

यद्यपि राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले माचाडोलाई स्वदेश नफर्कन निर्देशन दिएको भन्ने सञ्चारमाध्यमका दाबी अस्वीकार गरेका छन्।

अमेरिकी सिनेटमा दर्ता भएको नयाँ प्रस्तावले भेनेजुएलाको अन्तरिम राजनीतिक व्यवस्थालाई लोकतान्त्रिक निर्वाचनमार्फत वैधता दिनुपर्ने विषयलाई पुनः अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार आगामी दिनमा हुने वार्ता र निर्वाचनसम्बन्धी निर्णयले भेनेजुएलाको राजनीतिक भविष्य मात्र होइन, ल्याटिन अमेरिकाको शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार