गौरादहमा झापा गोल्डकप छनौट अन्तर वडास्तरीय फुटबल प्रतियोगिता: प्रथम पुरस्कार ३१,००० नगद
गौरादह, झापा। बडा दशैंको अवसरमा गौरादह नगरपालिकामा अन्तर वडास्तरीय रनिङ शिल्ड पुरुष फुटबल प्रतियोगिता तथा झापा गोल्डकप खेलाडी छनोट प्रतियोगिता हुने भएको छ। गौरादह नगर खेलकुद परिषदको आयोजनामा यहि असोज १८ देखि २१ गतेसम्म श्री जनता मा.वि. गौरादहको खेल मैदानमा खेल हुनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ३१,००० रुपैयाँ र द्वितीय हुने टोलीलाई नगद २१,००० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई "म्यान अफ द म्याच"को उपाधि सहित विशेष पुरस्कार प्रदान गरिने छ।
गौरादह नगर खेलकुद परिषदका अध्यक्ष दुर्गामणी बस्नेतको अध्यक्षता र नगर प्रमुख छत्रपति सुवेदीको विशेष आतिथ्यतामा बसेको बैठकले प्रतियोगिताको मिति र पुरस्कारको घोषणा गरेको हो। प्रतियोगितामा गौरादह नगरपालिकाका सबै वडाहरूको सहभागिता रहने अपेक्षा गरिएको नगर खेलकुद परिषदका सदस्य सचिब निर्मल बाँस्तोलाले जानकारी गराउनु भयो ।
फुटबल संघ गौरादहका संयोजक विनोद अधिकारीले प्रतियोगिताको मुख्य उद्देश्य झापा गोल्डकपका लागि उत्कृष्ट खेलाडीहरूको छनोट गर्नु रहेको बताएका छन्। सहभागी वडाहरूलाई असोज १७ गते बिहान ११ बजेभित्र आफ्नो टोली दर्ता गराउन आग्रह गरिएको छ।
प्रतिक्रिया