नेपालले अमेरिकाविरुद्धको टी–२० शृङ्खला क्लिन स्वीप गर्यो
काठमाण्डाै – अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ। आज सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै शृङ्खला आफ्नो पक्षमा पार्यो।
तस्बिर: CAN
अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका आसिफ शेखले अर्धशतक प्रहार गर्दै ३९ बलमा ५० रन बनाएर आउट भए। यस्तै, कुशल मल्ल ४४ रनमा र कुशल भुर्तेल ४० रनमा अविजित रहे। अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १/१ विकेट लिए।
यसअघि, डालासमा टस जितेर ब्याटिङ गर्न आएको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो। अमेरिकाका साइतेजा मुकामलाले ६८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे भने मिलिन्द कुमारले नटआउट ४३ रन बनाए। नेपालका तर्फबाट सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए।
शृङ्खलाको पहिलो खेलमा नेपालले १७ रनले जित हात पारेको थियो। दोस्रो खेलमा नेपालले रोमाञ्चक सुपर ओभरमा जीत दर्ता गरेको थियो।
अब टी–२० शृङ्खला पछि घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ।
प्रतिक्रिया