वडा स्तरीय फुटबल सुरु, युवाहरूको मौन प्रदर्शन, कार्यक्रम स्थलमै सारथीले बुझायो ध्यानाकर्षण पत्र
झापा: गौरादहमा वडास्तरीय फुटबल खेल सुरु भएको छ । नगरप्रमुख छत्रपती सुवेदीले एक औपचारिक कार्यक्रम मार्फत खेलको समुद्घाटन गर्नु भएको हो ।
सो अवसरमा नगर प्रमुख सुवेदीले कुनै पनि बहानाको अपारदर्शीता र भ्रष्टाचारजन्य कसुर सैह्य नहुने बताउनु भयो ।
गौरादहको खेलकुदको विषयमा युवाहरूले उठाएका प्रश्नहरुले खेलकुद क्षेत्रमा देखिने समस्याहरु खोजी गर्न मद्दत पुगेको वहाँको भनाइ थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
युवाहरूको मौन बिरोध
त्यसो त जनता मा. वि. को खेलमैदानमा आयोजित खेलको उद्घाटन कार्यक्रम सुरु हुनै लाग्दा केहि स्थानीय युवाहरू कार्यक्रम स्थलमा प्रवेश गरेका थिए । उनीहरुको हातहातमा प्ले कार्ड थिए । खेलकुद कार्यक्रम सञ्चालन गर्दा आर्थिक पारदर्शिता कायम हुनुपर्ने, खेलकुदमा राजनीतिकरण हुनु नहुने, सुविधायुक्त रंगशालाको निर्माण गरिनुपर्ने, भ्रष्टाचार र व्यथिती रोकिनुपर्ने लगायतका विषय समेटिएका प्ले कार्ड प्रदर्शन गर्दै मौन भएर विरोध गरेको दृश्यले कार्यक्रम स्थलमा निकै ठूलो सन्नाटा समेत छाएको देखिन्थ्यो । खेल हेर्न आएका दर्शक भने युवाहरूको विरोध कार्यक्रमले खेल सञ्चालनमा बाधा पुग्ने हो कि भन्ने चर्चा गरिरहेका भेटिन्थे । यद्यपि युवाहरूमा देखिएको मौन विरोधको सैलीलाई भने उपस्थित खेल दर्शकले अर्थपूर्ण रूपमा हेरेका थिए ।
कार्तिक ४ गतेदेखि सुरु हुने भनिएको खेल प्राविधिक कारण देखाउदै आयोजक समितिले तिहार पछाडिलाई सारेको थियोे । खेलको मिति पछाडि सारिएको विषयमा समेत स्थानीय युवाहरु आक्रोशित हुँदै नगरपालिका परिसरमा समेत पुगेर विरोध प्रदर्शन गरेका थिए । युवाहरूको आक्रोशमा मलमपट्टी लगाउदै नगर प्रमुख सुवेदीले 'हाम्रो ध्यानाकर्षण भएको छ, अहिले तपाईंहरु जानुहोस्, तत्काल बैठक बोलाएर यथासिघ्र खेल सञ्चालन गर्ने प्रयास गरिनेछ' भनेपछि उनिहरु फर्किएका थिए ।
चौतर्फी दवाब भएकै कारणले पनि खेलको मिति पुनः अगाडि ल्याइएको खेलकुद परिषद संयोजक दुर्गामणि बस्नेत बताउछन् ।
'युवा भाईहरुको माग सबै सकारात्मक छन् । नगर खेलकुदमा सम्पूर्ण नगरवासीको अपनत्व हुनुपर्छ भन्ने कुरामा हामी धृड छौँ ।', बस्नेतले आजको कार्यक्रममा सम्बोधन गर्दै यसो भनेका छन् ।
सारथी युवा क्लबले बुझायो ध्यानाकर्षण पत्र
उद्घाटन समारोहकै दौरानमा स्थानीय सारथि युवा क्लबले समेत खेलकुद परिषदलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा खेलकुदको समग्र बिकासमा ध्यान दिन आग्रह गरिएको छ । सारथीले समेत भ्रष्टाचार र अनियमितता र अपारदर्शीताकै प्रसंग उठाएको छ । रंगशालाको निर्माणमा समेत ध्यान नदिदा खेलकुद क्षेत्र पछाडि परेको उक्त संस्थाको तर्क छ । नगरस्तरका खेलकुद कार्यक्रममा भएको खर्च विवरण सर्वसाधारणलाई जानकारी नहुनु दुर्भाग्यपूर्ण हुने सारथीको ठहर रहेको छ ।
समग्र सवालहरुमा जवाफ दिदै नगर प्रमुख सुवेदीले नगरपालिकाले खेलकुद ऐन, कार्यविधि र नियमावली बनिसकेको बताउदै खेलकुद क्षेत्र अव पछि नपर्ने जिकिर गर्नुभयो । यस अघि झापा गोल्डकपको लागि मात्र खेलाडी छनौट हुनेगरेका भएपनि आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा हुने खेलमा समेत यही कार्यक्रम मार्फत छनौट भएको टोली जान पाउने वहाँले जानकारी गराउनु भयो । वहाँले भन्नुभयो, 'फुटबल मात्रै होईन समग्र खेलकुदको बिकास गर्न रंगशाला निर्माण गर्नु छ, निर्माण हुँदै गरेका कवर्डहलहरु निर्माण सम्पन्न गर्नुछ ।'
औपचारिक सत्रमा पहिलो खेल वडा नम्बर २ र ९ बिच खेल भएको थियो ।
प्रतिक्रिया