गौरादह नगर खेलकुद विकासमा प्रतिबद्ध - नगर प्रमुख सुवेदी
झापा, कार्तिक १०: गौरादह नगरपालिकाका प्रमुख छत्रपती सुवेदीले खेलकुद क्षेत्रको समग्र विकासका लागि नगरपालिकाले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ। कार्तिक ७ देखि १० गतेसम्म सञ्चालित वडा स्तरीय खेलकुद कार्यक्रमको समापन समारोहमा उहाँले खेलकुदको विकासले युवाहरूको सिर्जनशीलता र क्षमतामा वृद्धि गर्ने बताउनुभयो।
नगर प्रमुख सुवेदीले फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी र कराँतेजस्ता खेललाई समग्रतामा अगाडि बढाउँदै नगरले खेलकुद सम्बन्धी नीति तथा नियम निर्माण गरिसकेको जानकारी गराउनुभयो। झापा गोल्डकपजस्ता प्रतिष्ठित प्रतियोगितामा गौरादहका खेलाडीहरूले सफलतापूर्वक भाग लिनसक्ने आशा व्यक्त गर्दै उहाँले खेलकुद क्षेत्रमा अझ बढी सक्रिय हुन युवाहरूलाई प्रेरित गर्नुभयो।
समारोहमा नगर खेलकुद विकास परिषद्का उपाध्यक्ष हेमन्त कार्की, कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारी, जेसीज अध्यक्ष खड्ग थापा, र वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति झापाका सदस्य कपिलमणि काफ्ले, नेपाली कांग्रेसका नेता जीवन राईलगायतको उल्लेखनीय उपस्थिति थियो।
वडा नम्बर ५ ले जित्यो उपाधि
वडा स्तरीय खेलकुद प्रतियोगितामा वडा नम्बर ५ ले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल खेलमा वडा नम्बर ४ लाई प्यानल्टी शुटआउटमा पराजित गर्दै उपाधि जित्न सफल भएको छ। गत वर्षको विजेता वडा नम्बर ५ यसपटक पनि निरन्तर्ता दिएको छ । विजेता टिमलाई ३१ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता टिमलाई २१ हजार नगद ट्रफी र प्रमाण पत्र सहित सम्मान दिइएको थियो।
कार्यक्रमको संयोजन वडा नम्बर ४ का वडाध्यक्ष दुर्गामणि बस्नेतले गरेका थिए, भने कार्यक्रमको सञ्चालन सदस्य सचिव निर्मल बाँस्तोलाले गर्नुभएको थियो।
खेलकुदमा नगरपालिकाको प्रतिबद्धता
नगर प्रमुख सुवेदीले खेलकुदको विकासमा अझ ठूलो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै, गौरादह नगरपालिकालाई खेलकुद मैत्री नगर बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। खेलकुद क्षेत्रको समृद्धिले गौरादह नगरको समग्र विकासमा योगदान पुग्ने उहाँको विश्वास छ।
प्रतिक्रिया