सरकारविरुद्ध माओवादीको सडक आन्दोलन सुरु, भृकुटीमण्डपमा खबरदारी सभा
सरकारले सय दिन पूरा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारविरुद्ध दबाब अभियान सुरु गरेको छ। शनिबार राजधानीको भृकुटीमण्डपमा आयोजित खबरदारी सभामा माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई बिचौलियाको दबाबमा चलेको आरोप लगाए। उनले सरकारी उद्योगहरूलाई निजीकरणको नाममा स्वार्थ समूहलाई सुम्पन खोजिएको भन्दै सरकारको निर्णयको कडा आलोचना गरे।
प्रचण्डले सरकारलाई चेतावनी दिँदै प्रश्न गरे, "तिमीहरूलाई लाग्छ माओवादी मर्यो? जे गरे पनि हुन्छ भन्ने लाग्यो?" उनले संसदमा मात्र नभई सडकबाटै पनि सरकारसँग जवाफ माग्न तयार रहेको बताए। प्रचण्डले काठमाडौंको उद्धार घटनाको उदाहरण दिँदै सरकारको असफलता र गैरजिम्मेवारीपनप्रति कडा आक्रोश व्यक्त गरे।
सभामा उल्लेख्य सहभागिता रहेको भन्दै प्रचण्डले भने, "चार दिनको तयारीमा यत्रो भीड भयो भने, एक महिनाको तयारीमा विरोध सभा गर्यौँ भने सरकारले थेग्न सक्छ?" उनले आफू नयाँ क्रान्तिको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै भने, "म थाकेको छैन, हामी थप उपलब्धिहरूका लागि संघर्ष गर्न तयार छौँ।"
प्रचण्डले आगामी निर्वाचनमा माओवादी एक्लै प्रतिस्पर्धा गर्ने उद्घोष गर्दै कांग्रेस र एमालेसँगको विगतको गठबन्धनलाई गल्तीको रूपमा स्वीकारे। उनले भने, "हामीले भ्रष्ट नेताहरूसँगको सहकार्य गर्दा गल्ती गर्यौँ, तर अब जनताको पक्षमा सच्चिएर लड्नेछौँ।"
प्रतिक्रिया