आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गर्यो
अमेरिकाको डालसमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ। स्कटल्याण्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा पूरा गर्यो।
नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाएर जितमा महत्वपूर्ण योगदान दिए। कुशल भुर्तेल र गुल्सन झाले समान २५/२५ रन जोडे भने आसिफ शेखले २१ रन बनाए। स्कटल्याण्डका बलर ब्राण्डम म्याकुलमले २ विकेट लिए।
टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डलाई ४१ ओभर ४ बलमा १५४ रनमा समेट्न सफल भयो। स्कटल्याण्डका मार्क वाटले सर्वाधिक ३४ रन बनाएका थिए। नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे भने करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २/२ विकेट लिए, जबकि आरिफ शेखले १ विकेट लिए।
यसअघि शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो भने स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो। अंक तालिकामा सातौँ स्थानमा रहेको नेपालको १० खेलमा ५ अंक छ, जबकि चौथो स्थानमा रहेको स्कटल्याण्डको ९ खेलमा ११ अंक छ। शीर्ष स्थानमा रहेको क्यानडाले १२ खेलमा १६ अंक जोडेको छ।
प्रतिक्रिया