गौरादह नगरमा कर सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
गौरादह नगरभरीका शिक्षक तथा विद्यार्थीहरूलाई कर सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। मिति २०८१ मङ्सिर ६ गते गौरादह बहुमुखी क्याम्पसमा आयोजित यस तालिमको आयोजना आन्तरिक राजस्व कार्यालय, दमकले गरेको हो।
तालिमको प्रमुख प्रशिक्षकका रूपमा प्रमुख कर अधिकृत पुष्प रिजालले प्रशिक्षण दिनुभएको थियो। उहाँले कर प्रणाली, त्यसको महत्त्व, कर तिर्दा हुने फाइदा, र कर सम्बन्धी कानुनी प्रक्रिया लगायतका विषयमा स्पष्ट पार्नुभएको थियो। कार्यक्रममा कर अधिकृत प्रेम प्रसाद मण्डल र नायब सुब्बा सागर ढुंगानाको समेत उपस्थिति थियो।
कार्यक्रममा करप्रतिको जनचेतना अभिवृद्धि गर्न शिक्षक र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। गौरादह नगरपालिकाभरिका विद्यालयका प्रतिनिधिहरूले यस कार्यक्रमलाई सकारात्मक रुपमा ग्रहण गरेका छन्।
यस प्रकारका कार्यक्रमहरूले नागरिकमा करप्रति उत्तरदायित्व बोध गराउन मद्दत पुग्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।
प्रतिक्रिया