गौरादह खेलकुद परिषदले पौष १० देखि महिला र पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने
गौरादह नगर खेलकुद परिषद्को आयोजनामा पौष १० गतेदेखि नगरपालिका कार्यालय परिसरकै खेल मैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ। परिषद्का सदस्यसचिव निर्मल बाँस्तोलाका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता विकास गर्दै खेलकुदको महत्वलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
पुरुषतर्फ विजेताले करसहित ३१,००० रुपैयाँ र उपविजेताले २१,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ विजेतालाई २१,००० रुपैयाँ र उपविजेतालाई १५,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई 'म्यान अफ द म्याच' उपाधिसहित विशेष पुरस्कार प्रदान गरिने छ।
खेलकुदको महत्वलाई प्राथमिकता दिंदै परिषद्ले यसअघि वडास्तरीय फुटबल, पुरुष क्रिकेट, र खेलाडी छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यसैगरी, परिषद्ले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरेको छ। विद्यार्थी लक्षित यो प्रतियोगिता नगरभित्रको कुनै एक सामुदायिक विद्यालयमार्फत सञ्चालन गरिनेछ। विद्यालय चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
खेलकुदले शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले परिषद्ले यस प्रकारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ। फाइल फोटो
प्रतिक्रिया