गौरादहको आफ्नै खेल मैदानमा महिला/पुरुष भलिबल खेलाडी छनौट प्रतियोगिता सुरु
गौरादह – गौरादह नगर खेलकुद परिषद्को आयोजनामा आजदेखि महिला र पुरुष भलिबल खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ। वडा नम्बर २ मा रहेको नगरपालिकाको आफ्नै खेल मैदानमा नगर प्रमुख छत्रपति सुवेदीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्दै खेलकुदको महत्वलाई प्रवर्द्धन गर्नु रहेको छ।
आजको खेल
आज भएको समुह चरणको पुरुष तर्फ वडा नम्बर ५ र ४ को खेलमा वडा नम्बर ४ ले जित हात पारेको छ । त्यस्तै वडा नम्बर ६ र ३ को खेलमा वडा नम्बर ३ तथा महिला तर्फ वडा नम्बर १ र २ को खेलमा वडा नम्बर १ र वडा नम्बर ५ र ३ को खेलमा वडा नम्बर ५ ले जित हात पारेको छ ।
आजको खेलको म्यान अफ द म्याच पुरुष तर्फ वडा नम्बर ४ का राजेस बराल, वडा नम्बर ३ का प्रशान्त कार्की र महिला तर्फ वडा नम्बर ५ कि प्रिया कार्की घोषित भएका छिन् ।
पुरुषतर्फ विजेताले ३१,००० रुपैयाँ नगद पुरस्कार र उपविजेताले २१,००० रुपैयाँ प्राप्त गर्नेछन्। महिलातर्फ विजेताले २१,००० रुपैयाँ र उपविजेताले १५,००० रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई 'म्यान अफ द म्याच' उपाधिसहित विशेष पुरस्कार प्रदान गरिनेछ।
खेलकुद कार्यक्रमको समापन आगामी पौष १३ गते हुने जनाइएको छ ।
गौरादह नगर खेलकुद परिषद्ले यसअघि वडास्तरीय फुटबल, पुरुष क्रिकेट, र खेलाडी छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। परिषद्ले आगामी दिनमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ। विद्यार्थी लक्षित यो प्रतियोगिता नगरभित्रका सामुदायिक विद्यालयहरूमध्ये एउटा विद्यालयमा सञ्चालन गरिनेछ।
खेलकुदले शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले परिषद्ले यस्ता कार्यक्रमहरूलाई विशेष प्राथमिकतामा राख्दै आएको छ।
प्रतिक्रिया