माघ २६ २०८१, शनिबार

हिमाल खड्का र हिरा खड्काको दमदार प्रदर्शनले दर्शक रोमाञ्चित

Ads

 

गौरादह
गौरादह नगर खेलकुद परिषद्को आयोजनामा भएको पुरुष र महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नं ४ र महिलातर्फ वडा नं ५ विजयी भएका छन्।

Ads

शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ वडा नं ४ ले वडा नं ७ लाई पराजित गर्दै उपाधि जित्यो भने महिलातर्फ वडा नं ५ ले वडा नं ७ लाई पराजित गरी जित हात पारेको हो।

उत्कृष्ट प्रदर्शनका बावजुद वडा नं पराजित
प्रतियोगितामा वडा नं ७ ले प्रारम्भदेखि फाइनलसम्म उत्कृष्ट प्रदर्शन गरे पनि दुबै विधामा उपाधि जित्न असफल रह्यो। महिलातर्फ वडा नं ५ की हिरा खड्का र पुरुषतर्फ वडा नं ४ का हिमाल खड्काको उत्कृष्ट खेल प्रदर्शनका कारण वडा नं ७ दुवै तर्फ पराजित हुन पुगे।

Ads

महिलातर्फ वडा नं ५ ले वडा नं ७ लाई २५-१९, २५-१७, र २५-१७ को सोझो सेटमा हरायो। पुरुषतर्फ वडा नं ४ ले वडा नं ७ लाई २७-२५, २५-१५, २५-२३, २५-२३ र २७-२५ को सेटमा पराजित गर्यो।

नगद पुरस्कार सम्मान
जितसँगै पुरुषतर्फ प्रथम हुने टिमले करसहित नगद ३१ हजार रुपैयाँ, दोस्रो हुने टिमले २१ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ पहिलो स्थान हासिल गर्ने टिमले नगद २१ हजार र दोस्रो हुने टिमले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

खेलाडीहरूलाई विशेष पुरस्कार
फाइनल खेल सम्पन्न भएपछि उत्कृष्ट खेलाडी, सटर, लिफ्टर र लिब्रोलाई समेत पुरस्कृत गरियो।

अतिथिहरूको भनाइ
कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले खेल क्षेत्रको विकासका लागि नगरपालिका हरेक वर्ष खेलकुदको आयोजना गर्दै आएको बताए। खेल क्षेत्रका सबै बिधामा नगरपालिकाले पर्याप्त ध्यान पुर्याएको भन्दै अघिल्ला केहि वर्षको तुलना गर्ने मात्र हो भने पनि खेलकुदको क्षेत्र कति फड्को मारिएको छ भनेर सहजै अनुमान गर्न सकिने बताए ।

'बजेट पर्याप्त छुट्याइएको छ । हरेक बिधामा बलियो प्रतिस्पर्धा गर्न सक्ने खेलाडी निस्किन थालेका छन् । यसको उदाहरण पहिलो पटक आयोजना गरिएको महिला भलिबल टिमले समेत दिएको छ  । हाम्रा फुटबल खेलाडीले झापा गोल्डकपमा देखाएको  उत्कृष्ट प्रदर्शनले हामीमा थप जिम्मेवारी थपिएको महसुस भएको छ ।' जिल्ला हुँदै राष्ट्रिय लेभलका खेलाडी उत्पादन गर्नु नगरपालिकाको मुख्य मिसन रहेको उनले बताए ।  जिल्ला समन्वय समिति सदस्य कपिलमणी काफ्लेले गौरादहका खेलाडीहरु हरेक बिधामा उत्कृष्ट रहदै आएको अनुभव आफुले पाएको बताए ।   उपमेयर जलबर्षा राजवंशी चौधरीले खेलाडीहरूको प्रतिभा उजागर गर्न र छनोट प्रक्रिया बलियो बनाउन यस्तो कार्यक्रमको आवश्यकता रहेको बताइन्। त्यस्तै सामाजिक विकास समिति संयोजक तथा परिषद संयोजक दुर्गामणी बस्नेतले गौरादह खेलकुद परिषदको गठन सँगै खेल क्षेत्रको बिकासमा तिब्रता आएको जिकिर गरे । 

आगामी योजना 

खेलकुद क्षेत्रको बिकासमा नगर खेलकुद परिषद जिम्मेवार भएर उभिएको परिषदका सदस्य सचिब निर्मल बाँस्तोला बताउछन् । 'परिषदले पारदर्शी भएर काम गर्दै आएको छ । हामी कुनै व्यक्तिगत स्वार्थ लिएर हिडेका छैनौं । खेलकुदको माध्यमबाट गौरादहलाई देश बिदेशमा चिनाउने हाम्रो एकमात्र गन्तव्य हो ।', बाँस्तोलाले भनेका छन् । 

खेलकुद परिषदले निकट भविष्य मै ब्याटमिन्टन, कबड्डी, सितेरियो कराँते र बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी गराइएको छ । कार्यक्रम संचालक तथा नगर खेलकुद परिषद सदस्य समेत रहेका बिनोद अधिकारीले जानकारी गराएका छन् । 

खेलाडीहरूको धारणा
महिला भलिबल खेलाडी हिरा खड्काले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन दिन स्थानीय सरकारको ध्यान आवश्यक रहेको बताइन्। महिला खेलाडी प्रिया कार्कीले प्रशिक्षक राखेर खेलाडी उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिइन्।

महिला खेलाडी हिमा बस्नेतले घरपरिवारबाट सहयोग प्राप्त भएपछि आफूले चाहेअनुसारको खेल प्रदर्शन गर्न सकेको उल्लेख गर्दै नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेमा उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरिन्।


गौरादहमा सम्पन्न भलिबल प्रतियोगिताले नगरभित्र खेल क्षेत्रको महत्त्व र खेलाडीहरूको क्षमताको प्रदर्शन एकातिर गरेको छ भने महिला खेलाडी नै छैनन् भन्ने भास्यलाई चिर्दै महिला भलिबल टिम समेत सशक्त बन्ने सम्भावनालाई संकेत गरेको देखिन्छ ।  यस्तो प्रकारका प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पुग्न प्रेरणा दिने विश्वास समेत  गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार