झापामा कोशी प्रदेशस्तरीय बक्सिङ र कुस्ती प्रतियोगिता हुने
गौरादह, झापा । झापा जिल्लामा कोशी प्रदेशस्तरीय बक्सिङ तथा कुस्ती प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी जेठ ५ देखि १० गतेसम्म झापाको गौरादह र अर्जुनधारामा हुने छ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी 'प्रशान्त' का अनुसार, समितिको हालै सम्पन्न बैठकले गौरादहमा जेठ ५ देखि ७ सम्म कुस्ती प्रतियोगिता र अर्जुनधारामा जेठ ८ देखि १० सम्म बक्सिङ प्रतियोगिता गर्ने निर्णय गरेको हो। प्रतियोगिताको संयोजन कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्नेछ।
समितिका सदस्य एवं प्रवक्ता जगन दुर्वासा कार्कीका अनुसार, कुस्ती प्रतियोगितामा करीब १०० जना खेलाडी तथा अफिसियल र बक्सिङमा करीब ११० जनाको सहभागिता रहनेछ। यस सम्बन्धमा कोशी प्रदेशका सबै जिल्ला खेलकुद समितिहरू तथा वक्सिङ संघहरूलाई पत्राचार गरिसकिएको उनले जानकारी दिए।
युवामा आत्मरक्षा र खेलकुदमा रुचि बढाउने लक्ष्य
स्वास्थ्य, सुरक्षा र आत्मरक्षाको दृष्टिले महत्त्वपूर्ण ठहरिने बक्सिङ र कुस्ती खेलप्रति युवाहरूको आकर्षण बढाउने र वक्सिङलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए।
एथलेटिक्स प्रशिक्षक नर्वदा विष्टलाई सम्मानसहित विदाइ
झण्डै डेढ दशकसम्म झापा जिल्ला खेलकुद विकास समितिमा एथलेटिक्स प्रशिक्षकको रूपमा कार्यरत रहेकी नर्वदा विष्टलाई समितिले सम्मानसहित विदाइ गरेको छ।
वि.सं. २०६९ सालदेखि झापा खेलकुद विकास समितिमा कार्यरत विष्टले आफ्नो सेवा अवधि पूरा गरी बैशाख १५ गतेदेखि अनिवार्य अवकाश लिएकी हुन्। अवकाशको अवसरमा समितिको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रममा उनलाई मायाको चिनो, सम्मानपत्र र माला/खादा सहित विदाइ गरिएको थियो।
समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङका अनुसार, विष्टले एथलेटिक्समा सक्षम खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। विदाइ समारोहमा अध्यक्ष भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल लगायत समितिका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष भण्डारीले विष्टको सेवानिवृत्त जीवनको सफलताको कामना गर्दै भविष्यमा पनि आवश्यकतानुसार उनको अनुभव र क्षमताको सदुपयोग गरिने बताए ।
प्रतिक्रिया