श्रावण १६ २०८३, शनिबार

रवि लामिछानेविरुद्धको ‘राजनीतिक प्रतिशोध’ विरोधमा ३४ लाख हस्ताक्षर समाचार:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध भइरहेको भनिएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप सुरु गरिएको हस्ताक्षर संकलन अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ।

अभियान समितिका अनुसार हालसम्म देशभरबाट ३४ लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरिसकेका छन्। साथै, अभियानलाई थप प्रभावकारी बनाउनका लागि नागरिकबाट ६५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको जनाइएको छ। समितिले अभियानलाई देशव्यापी दबाबमूलक गतिविधि बनाउन आम नागरिकको सहभागिता उत्साहजनक देखिएको दाबी गरेको छ।

देशभर हस्ताक्षर संकलन गर्ने उद्देश्यसहित अभियान टोली अहिले ‘देश यात्रा’ मा निस्किएको छ। सुदूरपश्चिमको कञ्चनपुरबाट हिजो औपचारिक रूपमा सुरु भएको यात्राले क्रमशः विभिन्न जिल्लामा पुगेर जनसहभागिता बटुल्दै जाने जनाएको छ।

अभियानको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले गरिरहेका छन्। बोहराले अभियान केवल पार्टीगत मात्र नभई सर्वसाधारण नागरिकको अभिव्यक्ति र समर्थनको रूप भएको बताएका छन्। उनका अनुसार, “यो यात्राले देशभर जनमत निर्माण गर्नेछ र न्यायिक प्रक्रिया वा राजनीतिक निर्णयमा नागरिक आवाजलाई बलियो बनाउनेछ।”

रवि लामिछानेविरुद्ध भइरहेको भन्दै आएको ‘राजनीतिक प्रतिशोध’को विरोधमा देखिएको नागरिक सहभागिताले रास्वपाका नेता–कार्यकर्तामा हौसला बढाएको देखिन्छ। राजनीतिक वृत्तले समेत यसलाई लामिछानेप्रतिको जनसमर्थनको संकेतका रूपमा व्याख्या गर्न थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार