कार्तिक ०७ २०८२, बिहिबार

जनकपुरधाममा प्रहरी र व्यवसायीबीच झडप, हवाइफायर र अश्रुग्यास प्रहार

Ads

१ कात्तिक, जनकपुरधाम — तिहारको पूर्वसन्ध्यामा जनकपुरधाम तनावग्रस्त बनेको छ। जनकपुरधाम–११ सोनारपट्टीस्थित संजय ठाकुरको नयाँ खोलेको ज्वेलर्स पसलमा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरीले र व्यवसायीबीच झडप भएको हो।

झडपका क्रममा प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ। घटनामा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् भने १० जना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले जानकारी दिएका छन्।

Ads

डिएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर र २ सेल अश्रुग्यास प्रहार गरिएको थियो।

प्रहरी टोली डिएसपी बमकै नेतृत्वमा राति ८ बजे सिभिल ड्रेसमा विशेष सूचनाको आधारमा छापा मार्न पुगेको थियो। उनका अनुसार ज्वेलर्स पसलबाट बिल–विजक नभएको करिब ७ किलो चाँदी बरामद गरिएको छ।

Ads

धनुषाका एसपी नरहरी रेग्मीको हालै सरुवा भएपछि डिएसपी बम कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रहरीका अनुसार बरामद गरिएको चाँदीको मुचुल्का गर्न सुनचाँदी व्यवसायी संघका प्रतिनिधिलाई बोलाइएको थियो। सो क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चाँदी लैजान नदिने अडान लिँदा विवाद सुरु भएको र त्यसपछि झडप भएको दाबी प्रहरीको छ।

Ads

तर व्यवसायीहरूले भने प्रहरीले अनावश्यक आतंक सिर्जना गरेको आरोप लगाएका छन्। उद्योग वाणिज्य संघ जनकपुरका महासचिव फुलदेव पण्डितका अनुसार सिभिल ड्रेसमा आएका पाँच जना प्रहरीले चाँदी जबर्जस्ती लैजान खोज्दा अवस्था बिग्रिएको हो। त्यसपछि थप प्रहरी आएर लाठीचार्ज, हवाइफायर र अश्रुग्यास प्रहार गरेपछि व्यवसायी र प्रहरीबीच झडप भएको उनले बताए।

पण्डितका अनुसार धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले यस्तो व्यवहार देखाएर व्यवसायीमाथि दमन गरेको हो। उनले घटनामा संलग्न प्रहरीमाथि कारबाही नभए संघले कडा आन्दोलन गर्ने चेतावनी दिए।

छापा मार्न पुगेका प्रहरीले अन्य प्रशासनिक निकायसँग समन्वय नगरेको आरोप पनि लागेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले छापाको विषयमा आफूलाई औपचारिक रूपमा जानकारी नदिइएको बताए। “राजश्व अनुसन्धानसँग समन्वय गरेर गएको सुनेका छौं, तर औपचारिक जानकारी गरिएको थिएन,” उनले भने।

तर डिएसपी बमले भने राजश्व अनुसन्धान विभाग पथलैयासँग समन्वय गरेर मात्र छापा मार्न गएको दाबी गरेका छन्।
“राजश्व छलेर चाँदी ल्याएर बिक्री भइरहेको सूचना थियो,” उनले भने, “हामीले राजश्व अनुसन्धान विभागसँग सहकार्य माग्यौं, तर विभागले ‘तपाईंहरूले नै अनुसन्धान गर्नुहोस्’ भनेपछि हामी पुगेका हौं।”

हाल जनकपुरधाममा अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। तर व्यवसायीहरूले प्रहरीमाथि अविश्वास प्रकट गर्दै घटनाको निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
कार्तिक ०२ २०८२,आइतबार
कार्तिक ०२ २०८२,आइतबार