प्रहरी हवलदार संगीता अधिकारीलाई विशेष बढुवा : जेनजी आन्दोलनको बीचमा अदालत जोगाउने नायिका
३ कात्तिक, दाङ।
देशभर जेनजी आन्दोलनको ज्वाला दन्किरहेको बेला जब सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म धुवाँको मुस्लो उडिरहेको थियो, त्यही क्षण दाङ जिल्ला अदालतको मुख्य ढोकामा प्रहरी हवलदार संगीता अधिकारी उभिएकी थिइन्।
उनले आफ्ना सहकर्मीहरूसँग मिलेर अदालतमा भीड प्रवेश हुन नदिई सरकारी सम्पत्ति जोगाइन्। “ए भाइ! प्लिज, अब भयो, जाऔं,” उनले आक्रोशित भिडलाई सम्झाइन्, “यो हाम्रै करबाट बनेको हो, यस्तो गर्नु हुँदैन।” उनको यो सरल सम्बोधनले आन्दोलनकारीको मन पगल्यो र भिड शान्त हुँदै गयो। अदालतमा आगो लगाउने प्रयास तत्काल रोकियो।

“भिडले ढुंगा हान्न थालेको थियो, डर लागेको थियो,” संगीता सम्झिन्छिन्, “तर हामीलाई थाहा थियो, अदालत जल्यो भने न्यायप्रणालीको मेरुदण्ड भाँचिन्छ।”
त्यो क्षणमा उनले बल प्रयोग र सहनशीलता बीचको कठिन निर्णय लिइन्— संयम रोजिन्। र, अदालत सुरक्षित रह्यो।
२०६९ सालमा प्रहरी सेवामा प्रवेश गरेकी तीन सन्तानकी आमा संगीतालाई दाङ जिल्ला अदालतले असोज २३ गते पाँच हजार रुपैयाँसहित सम्मान गर्यो। न्यायाधीश र वकिलहरूले उनको विवेकपूर्ण भूमिकाको प्रशंसा गर्दै बढुवाका लागि सिफारिससमेत गरे।

७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले उनलाई सहायक हवलदारबाट हवलदारमा विशेष बढुवा गरेको घोषणा गरेको छ। “यो संगीता अधिकारी मात्र होइन, विवेकसहित कर्तव्य निर्वाह गर्ने सबै प्रहरीप्रतिको सम्मान हो,” प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए।
त्यस्तै, आन्दोलनका क्रममा घाइते प्रहरी तथा नागरिकको उद्धारमा विशेष योगदान पुर्याएका काठमाडौं महाराजगञ्ज प्रहरी वृत्तका असई हेमबहादुर विकलाई पनि एक तह बढुवा गरिएको छ।

सामाजिक सञ्जालमा नागरिकहरू संगीतालाई “न्यायको घर बचाउने प्रहरी नायिका” भन्दै प्रशंसा गर्दै लेखिरहेका छन्। जेनजी आन्दोलनले शासन प्रणालीदेखि सुरक्षातन्त्रसम्म प्रश्न उठायो, तर त्यही आन्दोलनले एउटा सन्देश पनि दियो — हिंसाको बीचमा पनि विवेक र मानवता मर्दैन।
प्रतिक्रिया