इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल ल्याइँदै
३ कात्तिक, काठमाडौं।
इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइँदैछ, जसको अवतरण दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने तालिका छ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि विमानस्थलमा उपस्थित हुने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्दी साटासाटका क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक अनुसन्धानबाट शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्। फरेन्सिक जाँचले विपिनको अपहरण भएताकै मृत्यु भएको देखाएको थियो।

शव नेपाल पठाउनुअघि आइतबार तेल अवीवस्थित खटिभा ८ को स्मारक र बेन गुरियन विमानस्थलमा उनको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजित गरिएको थियो। विपिनको शव रहेको कफिनमा नेपाली राष्ट्रिय झण्डा आढाइएको थियो।
प्रतिक्रिया