आजदेखि तिहार पर्वको विधिवत् सुरुवात, धनतेरस तथा यमदीपदान आज मनाइँदै
कात्तिक १, काठमाडौं ।
उज्यालोको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १ः२३ बजेदेखि त्रयोदशी तिथि लागेपछि सुरु भएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दिउँसोपछि पर्ने त्रयोदशी तिथि अनुसार आज धनतेरस (धन त्रयोदशी) र यमदीपदान पर्व मनाइँदै छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आजदेखि यमदीपदानको विधि सुरु हुनेछ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बेलुकी त्रयोदशी तिथि परेकाले आज धनतेरस मनाइन्छ भने, भोलि आइतबार बिहान काग तिहार मनाइनेछ।
शास्त्रीय मान्यताअनुसार सायङ्कालमा त्रयोदशी परेमा यमदीपदान र प्रातःकाले त्रयोदशी परेमा काग तिहार गर्नुपर्ने उल्लेख छ।
तिथिको घटबढका कारण यस वर्ष कात्तिक २ गते सोमबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ। बिहान नरक स्नान गरी कुकुर तिहार मनाइने र बेलुकी औँसी तिथि अनुसार लक्ष्मीपूजा गरिनेछ।
कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यही दिन गरिने भएको हो।
कात्तिक ५ गते बुधबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलीपूजा, आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ हुने समितिले जनाएको छ।
कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष मनाउने शास्त्रीय वचन अनुसार नेपाल संवत् यसै दिन सुरु हुनेछ।
कात्तिक ६ गते बिहीबार भाइटिका पर्व मनाइनेछ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटिकाको शुभ साइत बिहान ११ः३९ बजे छ।
भाइटिका लगाउँदा दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर बस्ने परम्परा रहिआएको छ।
मध्याह्नकमा टीका लगाउनु पनि शास्त्रसम्मत हुने समितिको भनाइ छ।
तिहारलाई झिलिमिलीको चाड पनि भनिन्छ। राजधानी काठमाडौँसहित देशभरका सहरहरू बत्तीको उज्यालोले रन्किएका छन्।
कोजाग्रत पूर्णिमादेखि नै दीपावली सुरु गर्ने चलन पनि सहरी क्षेत्रमा बढ्दो छ।
बडादसैँमा सुनसान रहने काठमाडौं उपत्यका तिहारमा झिलिमिली बत्ती र भैलो–देउसीको आवाजले उत्सवमय बन्छ। लक्ष्मीपूजाका दिन भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने परम्परा छ।
तिहारका अवसरमा कौडा, लङ्गुर बुर्जा, तासलगायतका खेलहरू चल्ने भए पनि नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रतिक्रिया