आज काग तिहार, यमपञ्चकको सुरुवात
काठमाडौँ । आजदेखि नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ। तिहारको पहिलो दिन काग तिहार आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने यो पाँच दिने पर्वलाई यमपञ्चक पनि भनिन्छ। यसमा पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिन मनाइन्छ।
वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा “काग करायो भने पाहुना आउँछ” भन्ने जनविश्वास आज पनि जीवित छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरी दही, भात र विविध परिकार अर्पण गर्ने परम्परा छ।
धार्मिक विश्वास अनुसार,
“काकेन दधि भक्षितम्” — कागलाई दही भात खुवाउँदा उसले यमराजसमक्ष राम्रो सन्देश पुर्याउँछ।
त्यसैले आजका दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भन्ने प्रार्थना गरिन्छ।
कागलाई नदिई आफूले खाएमा पापको भागी हुने भनाइ पनि छ। यो पर्वले मानव र जनावरबीचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता, र प्रकृतिप्रतिको सम्मान गर्ने सन्देश दिन्छ।
धर्मग्रन्थहरूमा उल्लेख छ —
“कागोऽसि यमदूतोऽसि वायोसोऽसि माहामते ।
ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङकटात् ।।”
अर्थात् काग यमराजका दूत हुन्, वायुपतिको शक्ति (गति)सँग सम्बन्धित छन्। तिनलाई अर्पण गर्दा मृत्युका संकटबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।
धर्मशास्त्रअनुसार यमराजले पृथ्वीका सबै जीवको जन्म–मृत्युको विवरण राख्ने गर्छन्, र त्यो विवरण ल्याउने र लैजाने कार्य कागले गर्ने जनश्रुति छ।
त्यस्तै वैदिक कालको किंवदन्ती अनुसार, असुरराज बलिले भगवान् विष्णुको वामन अवतारलाई तीन पाउको दान दिएका थिए। विष्णुले त्यस बदलामा बलिलाई वर्षमा पाँच दिन पृथ्वीमा शासन गर्ने अधिकार दिएका थिए। यही पाँच दिनलाई नै तिहार पर्वका रूपमा मनाइने गरिन्छ।
आजको दिन काठमाडौंको कागेश्वरी मनोहरा मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना हुँदैछ। भक्तजन बिहानैदेखि काग र यमराजको पूजा गर्न तीर्थस्थलहरूमा भीड लागिरहेको छ।
प्रतिक्रिया