पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति, क्षमता २४१.५० मेगावाट
५ कात्तिक, काठमाडौं।
विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको संयुक्त उत्पादन क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट रहेको विभागले जनाएको छ।
विभागका अनुसार असोज मसान्तसम्म निर्माण अनुमति पाएका आयोजनामा लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१३२ मेगावाट), म्याग्दी खोला–बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट), माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती–१ (१३ मेगावाट), होङु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट) रहेका छन्।
हालसम्म विभागले कुल २६६ जलविद्युत् आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको संयुक्त क्षमता १० हजार ८२५ मेगावाट रहेको विभागले जनाएको छ।
यस्तै, हालसम्म एक सय ८५ जलविद्युत् आयोजनालाई सर्वेक्षणको अनुमति दिइएको छ। हाल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्, जसको कुल क्षमता १० हजार ५३२ मेगावाट बराबर रहेको विभागको विवरणमा उल्लेख छ।
सौर्य ऊर्जातर्फ हालसम्म १२ वटा आयोजना निर्माण अनुमतिपत्र प्राप्त गरी कार्यान्वयनमा रहेका छन्। ती आयोजनाको संयुक्त क्षमता ८४ मेगावाट रहेको छ।
त्यस्तै, तीन वटा सौर्य आयोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्, जसको कुल क्षमता १५ मेगावाट छ।
निर्माण अनुमतिपत्र लिएर पनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमति खारेज गरिएको विभागले जनाएको छ।
त्यस्तै, आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको आवेदन पनि रद्द गरिएको छ।
विभागका अनुसार सर्वेक्षण अनुमति पाएका तर काम सुरु नगरेका एक सय १८ आयोजनाको अनुमतिपत्र पनि खारेज गरिएको छ।
प्रतिक्रिया