जाडो छल्न सयौँ प्रजातिका आगन्तुक चरा नेपाल आइपुगे, कोशीटप्पु प्रमुख गन्तव्य
काठमाडौँ ।
उत्तरी ध्रुवमा हिमपात सुरु भएपछि हिउँदे जाडो छल्न विगतका वर्षझैँ यस वर्ष पनि सयौँ प्रजातिका पर्यटक चरा नेपाल आइपुगेका छन्।
चिनियाँ विज्ञान प्रतिष्ठानका उपप्राध्यापक एवं चरा अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालका अनुसार असोज दोस्रो सातादेखि नेपाल आउने यी चरा करिब छ महिना बस्ने र त्यसपछि आफ्ना बासस्थानतर्फ फर्कने गर्छन्।
उनका अनुसार बर्सेनि करिब १५० प्रजातिका चरा रुस, चीन, मङ्गोलिया, तिब्बत, र मध्य एसियाका देशहरूबाट नेपाल आउने गर्छन्, जसमा केही प्रजातिका चरा नेपाल हुँदै दक्षिण भारतसम्म पुग्ने गर्छन्।

नेपाललाई आकर्षक र सुरक्षित गन्तव्य मानेर आउने यी आगन्तुक चराको सङ्ख्या पछिल्ला वर्षमा घट्दै गएको भन्दै डा. कटुवालले चराको बासस्थान संरक्षणमा सरोकारवालालाई ध्यान दिन आग्रह गरेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्ष चराको मुख्य बासस्थान हो।
उनले भने, “कोशीटप्पुमा नयाँ प्रजातिका चरा थपिँदै गए पनि झुण्डझुण्डमा आउने चराको सङ्ख्या घट्दै गएको छ।”

विशेष गरी बार–हेडेड गुस (खोया हाँस) जस्ता पाहुना चराको सङ्ख्या कम हुँदै गएको उनले बताए।
नेपालमा जाडो छल्न आउने प्रमुख चराका स्थलहरूमा —
कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, तथा कोशी, गण्डकी, नारायणी नदी र सहायक नदीहरू पर्दछन्।

गौतमका अनुसार जाडोमा नेपाल आउने चरामध्ये धेरैजसो हाँस प्रजातिका हुन्छन् — खाया हाँस, सुनजुरे हाँस, कैलो टाउके हाँस, हरियो टाउके हाँस, लक्ष्मण सारस, कर्याङकुरुङ सारस आदि।
त्यस्तै, गोमायु, महाचिल, श्येनबाज जस्ता सिकारी चराहरू र हिमाली भद्राई, चाँचर, बगाले बगेडी जस्ता थलचर चराहरू पनि नेपाल आउने गर्छन्।
गर्मी याममा पनि करिब ६० प्रजातिका ग्रीष्मकालीन चरा बच्चा कोरल्न नेपाल आउने गर्छन्, जसमा कोइली प्रजातिका चरा बढी हुन्छन्।
नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड बनाउँदैनन् र अरू चराको गुँडमा अण्डा राखेर आफ्ना बच्चा हुर्काउने विशेषता राख्छन्।
नेपाल आउने अन्य प्रसिद्ध चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि पर्दछन्।
गर्मी आगन्तुक चराको मुख्य बासस्थान भने वन, घाँसेमैदान र कृषि क्षेत्र हुने कोशी संरक्षण केन्द्रले जनाएको छ।
प्रतिक्रिया