जेनजी प्रदर्शनमा तोडफोड र आगजनी गर्नेहरूलाई सार्वजनिक गर्न एमाले नेताहरूको माग
काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती न्यौपाने, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र एमाले शिक्षा विभाग सदस्य डा. सुन्दरी पोखरेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले प्रदर्शनमा संलग्न र पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनमा अशान्ति फैलाउने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्ने व्यक्तिहरूलाई पक्राउ गरी उनीहरूविरुद्ध चलाइएका मुद्दाको विवरण दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ।”
नेताहरूले लुटिएका हातहतियार र गोलीगठ्ठा कति संख्यामा बरामद गरिएका छन् भन्ने तथ्याङ्क सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्। साथै, सरकारी तथा निजी घरमा आगजनी र लुटपाटमा संलग्न समूहका नाइके र सदस्यलाई कारबाही गरी जनतामाझ तथ्य स्पष्ट पार्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया