श्रावण १८ २०८३, सोमबार

ब्रोड पिकमा हिमपहिरो : ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको दुःखद निधन, विश्वभरबाट श्रद्धाञ्जली

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक (८,०५१ मिटर) हिमालमा आएको भीषण हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको दुःखद निधन भएको छ।

मृत्यु हुने नेपालीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्। उनीहरू ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेपछि बिहीबारदेखि सम्पर्कविहीन भएका थिए। खोज तथा उद्धार कार्य जारी रहे पनि शनिबार उनीहरूको मृत्यु भएको पुष्टि भएको हो।

उक्त आरोहण टोलीमा कुल १० जना सदस्य सहभागी थिए, जसमध्ये ६ जना नेपाली र ४ जना विदेशी नागरिक रहेका थिए। विदेशी सदस्यहरूको अवस्थाबारे सम्बन्धित निकायले थप विवरण सार्वजनिक गर्ने क्रममा रहेको जनाइएको छ।

निर्मल पुर्जा ‘निम्स दाइ’ नेपाली पर्वतारोहण क्षेत्रका विश्वविख्यात व्यक्तित्व हुन्। उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल अत्यन्त छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको साहस, नेतृत्व र नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योगदानका कारण उनी विश्वभर परिचित थिए।

घटनापछि नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय शोकमा डुबेको छ। सामाजिक सञ्जालमार्फत विभिन्न देशका पर्वतारोही, शुभेच्छुक तथा संस्थाहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

यसैबीच प्रधानमन्त्री बालेन शाह ले हिमपहिरोमा ज्यान गुमाएका ६ नेपाली आरोहीप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

ब्रोड पिक दुर्घटनामा निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको निधन भएपछि राजनीतिक नेतृत्व, पर्यटन क्षेत्र तथा विश्वभरका पर्वतारोहण समुदायले गहिरो दुःख व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निम्स दाइसँगको आत्मीय सम्बन्ध स्मरण गर्दै सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले निम्स दाइसँग फेरि भेट्ने आशा अधुरै रहेको उल्लेख गर्दै उनको साहस, समर्पण र प्रेरणादायी व्यक्तित्व सदैव नेपालीको स्मृतिमा रहने बताएका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि निम्स दाइको निधनप्रति दुःख व्यक्त गर्दै अन्तिम समयसम्म उनी सुरक्षित फर्कने आशा गरेको बताएका छन्। उनले विश्वले चिन्नुअघि नै निम्स दाइभित्र रहेको आत्मविश्वास र असाधारण साहस आफूले देखेको स्मरण गर्दै उनको योगदान नेपाली इतिहासमा सदैव स्मरणीय रहने उल्लेख गरेका छन्।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निम्स दाइको निधनलाई नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। उनका अनुसार निम्स दाइको उद्देश्य व्यक्तिगत कीर्तिमान कायम गर्नु मात्र नभई नेपाली पर्वतारोहीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्ने, सुरक्षित पर्वतारोहण संस्कृतिको विकास गर्ने तथा नेपालको साहसिक पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने थियो।

निम्स दाइको निधनपछि विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटन व्यवसायी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उनको जीवन, विश्व कीर्तिमान तथा नेपाली पर्वतारोहणमा पुर्‍याएको योगदानलाई विशेष महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन्।

विशेषगरी सन् २०१९ मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी बनाएको विश्व कीर्तिमानलाई आधुनिक पर्वतारोहण इतिहासकै असाधारण उपलब्धिमध्ये एकका रूपमा स्मरण गरिएको छ।

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय आरोहण टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब ६ हजार ७ सय मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो। टोलीमा ६ नेपाली र ४ विदेशी आरोही सहभागी थिए।

दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के–टु क्षेत्रमा रहेका अनुभवी पर्वतारोही परिचालन गरिएका थिए। प्रतिनिधिसभा सदस्य तथा वरिष्ठ आरोही मिङ्मा डेभिड शेर्पासहितको टोलीले पनि खोजी अभियानमा सहभागिता जनाएको थियो। लामो खोजीपछि निम्स दाइसहित सम्पूर्ण ६ नेपाली आरोहीको निधन भएको पुष्टि गरिएको हो।

वि.सं. २०४० साउन ९ गते (२५ जुलाई १९८३) म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पुर्जाको बाल्यकाल चितवनमा बितेको थियो। बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि उनी बेलायती रोयल नेभी स्पेसल बोट सर्भिस (SBS) मा छनोट हुने पहिलो नेपाली बने।

सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। यस उपलब्धिले नेपाललाई विश्व पर्वतारोहण इतिहासमा नयाँ उचाइमा पुर्‍याएको मानिन्छ।

व्यक्तिगत सफलता मात्र होइन, नेपाली पर्वतारोहण, हिमाली पर्यटन र नेपाली पर्वतारोहीको अन्तर्राष्ट्रिय पहिचान विस्तारका लागि उनको योगदान सदैव स्मरणीय रहने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार