भदौ १५ २०८३, सोमबार

पृथ्वी राजमार्ग ठप्प भएपछि काठमाडौंको आपूर्ति व्यवस्थामा दबाब, वैकल्पिक बाटोबाट सामान ल्याउने तयारी

काठमाडौं । भोटेकोशी बाढीको असर अब सडक र यातायातमा मात्र सीमित रहेन। काठमाडौं उपत्यकाको दैनिक जीवनसँग जोडिएको आपूर्ति व्यवस्थामै यसको प्रभाव देखिन थालेको छ। उपत्यकामा अत्यावश्यक वस्तु भित्रिने मुख्य मार्ग पृथ्वी राजमार्ग अवरुद्ध भएपछि खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थलगायत सामग्रीको आपूर्तिमा दबाब बढेको हो।

धादिङको कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिन खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। मुख्य ढुवानी मार्ग बन्द हुँदा ठूलो संख्यामा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्। यसले काठमाडौंमा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्तिमा चुनौती थपेको छ।

यद्यपि, तत्कालै खाद्यान्नको ठूलो अभाव हुने अवस्था नरहेको व्यवसायीहरूले बताएका छन्। काठमाडौंका गोदाममा चामल, दाल, तेललगायत वस्तुको मौज्दात रहेकाले केही दिन सडक अवरुद्ध हुँदा बजारमा ठूलो असर नपर्ने उनीहरूको भनाइ छ। तर सडक लामो समय बन्द रहेमा आपूर्ति शृङ्खला प्रभावित हुने र त्यसको असर मूल्यमा पर्न सक्ने जोखिम भने बढेको छ।

सडक तत्काल पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्न सक्ने देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तु भित्र्याउने तयारी थालेको छ।

मन्त्रालयका अनुसार ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न कठिन हुने ठाउँमा साना सवारीसाधन प्रयोग गरेर भए पनि वैकल्पिक बाटोबाट सामान काठमाडौं ल्याउने योजना बनाइएको छ। विशेषगरी खाद्यान्न, चिनी र पेट्रोलियम पदार्थलाई प्राथमिकतामा राखिएको छ।

मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग आपूर्ति व्यवस्थाबारे निरन्तर छलफल गरिरहेको जनाएको छ।

पृथ्वी राजमार्ग बन्द भएपछि पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी गरेको छ।

निगमका अनुसार त्रिभुवन राजपथलगायत वैकल्पिक बाटो प्रयोग गरेर काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउने व्यवस्था मिलाइँदैछ। निगमले वैकल्पिक मार्गबाट आपूर्ति कायम राखिने भएकाले बजारमा इन्धन अभाव हुन नदिने जनाएको छ।

एलपी ग्यासको आपूर्तिका लागि पनि अन्य जिल्लाका उद्योगसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको कालीमाटी बजारमा तरकारी तथा फलफूलको आगमन घटेको तथ्यांकले देखाएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा एक दिनमा भित्रिने वस्तुको मात्रा उल्लेख्य रूपमा घटेको छ। छोटो दूरीका काभ्रे, नुवाकोट, धादिङ र उपत्यका आसपासका क्षेत्रबाट आउने तरकारी भने केही हदसम्म नियमित रहे पनि लामो समय सडक बन्द भएमा आपूर्ति थप प्रभावित हुन सक्ने बजार व्यवस्थापन समितिको भनाइ छ।

सडक अवरोधका कारण तत्कालै बजार खाली हुने अवस्था नदेखिए पनि लामो समयसम्म ढुवानी प्रभावित भएमा अभावको मनोविज्ञानले मूल्य बढाउन सक्ने चिन्ता छ।

यस्तो अवस्थामा सरकारले बजारमा नियमित अनुगमन गर्नुपर्ने र कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि रोक्न सक्रिय हुनुपर्ने उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।

विशेषगरी चाडपर्व नजिकिँदै गएको समयमा आपूर्ति अवरुद्ध हुँदा बजारमा यसको असर अझ बढी पर्न सक्ने भएकाले सरकारले अहिले नै वैकल्पिक आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

काठमाडौं उपत्यकाको दैनिक जीवन बाहिरी जिल्लाबाट आउने खाद्यान्न, तरकारी, इन्धन र अन्य सामग्रीमा ठूलो मात्रामा निर्भर छ। त्यसैले पृथ्वी राजमार्गजस्तो एउटा प्रमुख सडक अवरुद्ध हुँदा त्यसको असर यातायातमा मात्र नभई बजार, व्यवसाय र उपभोक्ताको दैनिक जीवनसम्म पुग्छ।

अहिले सरकारको चुनौती सडक खुलाउनु मात्र होइन, सडक नखुलेसम्म काठमाडौंको भान्सादेखि पेट्रोल पम्पसम्म आवश्यक वस्तुको आपूर्ति कसरी निरन्तर राख्ने भन्ने हो।

May be an image of text

सरकारले वैकल्पिक मार्ग, साना सवारी र अन्य आपूर्ति माध्यम प्रयोग गर्ने तयारी गरिरहे पनि सडक कहिलेसम्म अवरुद्ध रहन्छ भन्ने अनिश्चितताले आपूर्ति व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार