भदौ ३० २०८३, मंगलबार

कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ देखि यातायात खुलाउने तयारी

चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको वैकल्पिक नयाँ ट्र्याक सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। सडक खुलाउने उद्देश्यले तीव्र गतिमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि तत्काल सुरु गरिएको नयाँ ट्र्याक निर्माणको काम ११औँ दिनमा आइपुग्दा ग्रेडिङ, स्लोप कटिङलगायतका अधिकांश काम सम्पन्न भएका छन्। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सकिएपछि परीक्षणका रूपमा केही सवारीसाधनलाई नयाँ ट्र्याकबाट पास गराइएको थियो। परीक्षण सफल भएपछि बाँकी निर्माण कार्यलाई थप तीव्रता दिइएको हो।

नयाँ ट्र्याक निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरेर काम गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ।

निर्माणमा आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। निर्माण कम्पनीले थप पहिरोको समस्या नआएमा तोकिएको समयमै ट्र्याक तयार हुने जनाएको छ।

करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ। सडकसँगै नालीसमेत निर्माण गरिएको छ। हाल नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी ग्राभेलिङ गर्ने काम भइरहेको छ। सडकको किनारमा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई व्यवस्थित गर्दै टिक ड्रेन बनाउने कामसमेत अघि बढाइएको छ।

सब–बेसको अन्तिम तह निर्माण भएपछि ट्र्याक नियमित यातायात सञ्चालनका लागि तयार हुने निर्माण पक्षको भनाइ छ। कृष्णभीरको भौगोलिक अवस्था जोखिमपूर्ण रहेकाले नयाँ ट्र्याक सञ्चालनमा आए पनि पहिरोको जोखिम भने पूर्णरूपमा हटेको छैन।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि अहिले फिनिसिङको काम भइरहेको छ। परीक्षणका लागि केही सवारीसाधन पास गराइएको भए पनि सर्वसाधारणका लागि नयाँ ट्र्याक खुला गरिएको छैन।

उनले सर्वसाधारणलाई नयाँ ट्र्याक सञ्चालनमा आएको भ्रममा नपर्न आग्रह गरेका छन्। उनका अनुसार निर्माणका बाँकी काम पूरा भएपछि मात्रै नियमित रूपमा सवारीसाधन सञ्चालन गरिनेछ।

“थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ,” मिश्रले बताए।

कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएपछि पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गको आवागमन सहज हुने अपेक्षा गरिएको छ। तर सडक पूर्ण रूपमा सुरक्षित बनाउन पहिरो नियन्त्रण, पानीको उचित निकास र भित्ताको स्थायित्वमा पनि दीर्घकालीन ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार