चार जोखिमयुक्त हिमतालको पानी घटाइँदै, सात अर्बभन्दा बढी खर्च गर्ने सरकारको योजना
काठमाडौं । जलवायु परिवर्तनका कारण हिमताल विस्फोट तथा बाढीको जोखिम बढ्दै गएपछि सरकारले चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ।
मनाङको ठुलागी, संखुवासभाको तल्लो बरुण तथा सोलुखुम्बुका लुम्दिङ छ्छो र होङ्गु–२ हिमतालको पानीको सतह घटाउन लागिएको हो। होङ्गु–२ को एक मिटर र अन्य तीन हिमतालको करिब तीन मिटर पानी घटाउने प्रारम्भिक योजना रहेको छ।
यसका लागि सरकारले करिब ४९.९ मिलियन अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरेको छ। सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने ‘सञ्जीवनी ग्लोफ’ परियोजनामा हरित जलवायु कोषले ३६ मिलियन डलर र यूएनडीपीले २ मिलियन डलर सहयोग गर्नेछन्। बाँकी रकम नेपाल सरकारले व्यहोर्नेछ।
परियोजनाअन्तर्गत तल्लो बरुण, अरुण, दूधकोशी र मर्स्याङ्दी नदी बेसिनमा बाढी पूर्वसूचना प्रणालीसमेत विस्तार गरिनेछ। यसबाट चौबीसै घण्टा बाढीको पूर्वानुमान तथा सूचना उपलब्ध गराउने लक्ष्य राखिएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार हिमतालको पानी घटाउने काम अहिले अध्ययन तथा डिजाइनको चरणमा छ। सन् २०२७ पछि मात्रै स्थलगत काम सुरु हुने अपेक्षा गरिएको छ।
विज्ञहरूले भने हिमतालको पानी घटाउने योजनासँगै जोखिम सूचीमा नपरेका हिमपोखरी, हिमनदी र चट्टान खस्ने सम्भावित क्षेत्रको समेत अध्ययन तथा निगरानी गर्नुपर्नेमा जोड दिएका छन्।





प्रतिक्रिया