कोशीमा नेकपाले माग्यो ४ मन्त्रालय, एमालेले भन्यो- ३ वटा मात्र दिन सकिन्छ !
कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको छलफलमा मन्त्रालयको संख्यालाई लिएर अझै सहमति जुट्न सकेको छैन ।
नेकपा कोशी प्रदेशका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालयको संख्यामा कुरा नमिलेका कारण सोमबारको बैठक निष्कर्षविहीन टुंगिएको जानकारी दिएका छन् ।
नेता राईका अनुसार छलफलका क्रममा नेकपाले सरकारमा चारवटा मन्त्रालय पाउनुपर्ने माग दाबी गरेको छ भने एमालेले तीनवटा मात्र मन्त्रालय दिन सकिने अडान राखेको छ । संख्यामा कुरा नमिलेपछि भोलि दुवै दलका संसदीय दलका नेताहरू बसेर यसबारे अन्तिम टुंगो लगाउने सहमति भएको छ ।
राईले भने, ‘हामीले चार मन्त्रालय भनेका छौं, उहाँहरूले तीनको कुरा गर्नुभयो । त्यसैले संख्यामा आज कुरा मिलेन । एमाले नेता शेरधन राईको जहाजको समय भएकाले पनि आज यसबारे थप छलफल हुन सकेन । अब भोलि हिक्मत कार्की र इन्द्र आङ्बो बसेर यसलाई टुंग्याउने कुरा भएको छ ।’
मन्त्रालयको संख्यामा कुरा नमिले पनि अन्य कतिपय विषयमा भने दुई दलबीच सहमति बनेको छ । राईका अनुसार साझा न्यूनतम नीति तथा कार्यक्रम बनाउनका लागि नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा एउटा कार्यदल बनाउने र हालै ल्याइएको बजेटलाई पुनरवलोकन गर्ने विषयमा दुवै दल सहमत भएका छन् ।
त्यस्तै, अड्किएका ऐन कानूनहरूलाई आपसी सहमतिमा पारित गर्ने र सरकारलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल सकारात्मक रहेको उनले बताए ।
प्रतिक्रिया