सन्दीपलाई फेरि कप्तानी, हटाइए रोहित
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय कप्तानमा सन्दीप लामिछाने फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको कप्तान बनाउने निर्णय गरेको हो ।
सन्दीप सन् २०२२ पछि पहिलोपटक नेपाली टोलीको कप्तानीमा फर्किएका हुन् । उनले पछिल्लोपटक २०२२ अगस्ट ३० मा केन्या भ्रमणका क्रममा नेपालका लागि कप्तानी गरेका थिए । त्यसपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजतर्फ लागेका थिए ।
तर केन्याबाट वेस्ट इन्डिज पुग्नुअघि नै एक किशोरीले सन्दीपमाथि बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो । त्यसपछि रोहित पौडेलले नेपाली टोलीको नेतृत्व गर्दै आएका थिए ।
यता, ट्वान्टी–२० अन्तर्राष्ट्रियतर्फ भने दीपेन्द्रसिंह ऐरीले नै नेपाली टोलीको कप्तानी गर्नेछन् । फेब्रुअरीमा भारतमा सम्पन्न ट्वान्टी–२० विश्वकपपछि रोहितको स्थानमा दीपेन्द्रलाई ट्वान्टी–२० कप्तानको जिम्मेवारी दिइएको थियो ।
सन्दीपले यसअघि सन् २०२२ मै पहिलोपटक नेपाली टोलीको कप्तानी गरेका थिए । उनको कप्तानीमा नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा चार खेलमा मात्रै जित हात पारेको थियो । नौ खेलमा पराजित हुँदा एक खेल बराबरीमा सकिएको थियो ।
रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सफल कप्तानमध्ये एक हुन् । उनको नेतृत्वमा नेपालले ६३ खेल खेल्दा ३१ मा जित, ३० मा हार तथा दुई खेल रद्द भएका थिए ।
रोहितकै कप्तानीमा नेपालले सन् २०२३ मा विश्वकप लिग–२ को अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाएको थियो ।
यही क्रममा नेपालले घरेलु मैदानमा भएको एसिया कप छनोट प्रतियोगिता जित्दै पहिलोपटक एसिया कप खेलेको थियो । एसिया कपमा नेपालले पाकिस्तान र भारतजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गरेको थियो ।
पछिल्लो समय भने नेपालले विशेषगरी एकदिवसीय क्रिकेटमा निरन्तर कमजोर प्रदर्शन गर्दै आएको छ ।
हालै नेदरल्यान्ड्स भ्रमणमा नेपालले लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेलेका चारवटै खेल गुमाएको थियो । यससँगै नेपालले लिग–२ मा दोस्रोपटक ४–० को ‘क्लिन स्विप’ हार बेहोरेको हो ।
यसअघि गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकाविरुद्ध लिग–२ का चारवटै खेल गुमाएको थियो ।
विदेशी भूमिमा नेपालको यो लगातार आठौँ हार हो । विदेशी भूमिमा खेलिएका लिग–२ का २० खेलमा नेपालले १४ खेलमा हार बेहोरेको छ ।
सन् २०२४ मा क्यानडा भ्रमणका क्रममा पनि नेपालले लिग–२ मा एक खेल जित्न सकेको थिएन । तीन खेलमा पराजित भएको नेपालले एक खेल वर्षाका कारण रद्द भएको थियो ।
आठ राष्ट्र सहभागी लिग–२ को अंकतालिकामा नेपाल ३२ खेलबाट ११ जित र १९ हारसहित सातौँ स्थानमा छ । नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने संघर्षमा रहेको छ ।
प्रतिक्रिया