श्रावण २६ २०८३, मंगलबार

अर्जुनधारादेखि कैलाशघाटसम्म पाइप जोडेर पानी पुर्‍याउने हर्क साम्पाङको योजना

झापा । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले झापाको अर्जुनधारादेखि कैलाशघाटसम्म करिब दुई किलोमिटर पाइपलाइन विस्तार गरी पानी पुर्‍याउने योजना सार्वजनिक गरेका छन्।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत अर्जुनधारास्थित धार्मिकस्थलबाट पानी ल्याएर कैलाशघाटको अन्तेष्टिस्थल धुने तथा दुवै धार्मिकस्थललाई आपसमा जोड्ने उद्देश्यले श्रमदान गरिने बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘झापाको अर्जुनधारादेखि कैलाशघाटसम्म लगभग दुई किलोमिटर पाइप जोडेर महाभारतकालमा अर्जुनले वाण हानी निकालेको पानीले कैलाशघाटको अन्तेष्टिस्थल धुन र यी दुई स्थलहरूलाई जोड्न श्रमदान गरिनेछ।’

साम्पाङका अनुसार उक्त कामका लागि आवश्यक पाइप व्यवस्थापनमा सहयोग गर्न इच्छुक व्यक्तिहरूले सम्पर्क गर्न सक्नेछन्। उनले परियोजनालाई सामूहिक श्रमदान र सहयोगमार्फत अघि बढाउने संकेत गरेका छन्।

झापाको अर्जुनधारा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थलका रूपमा परिचित छ। अर्जुनधारा क्षेत्रमा रहेको पानीको स्रोतलाई कैलाशघाटसम्म पुर्‍याउने योजनाले दुई धार्मिक तथा सांस्कृतिक स्थललाई भौतिक रूपमा जोड्नुका साथै धार्मिक पर्यटनसँग पनि सम्बन्धित नयाँ सम्भावना सिर्जना गर्न सक्ने देखिन्छ।

साम्पाङले पछिल्लो समय श्रमदानमार्फत सार्वजनिक तथा सामुदायिक काम अघि बढाउने अभियानलाई प्राथमिकता दिँदै आएका छन् यसपटक पनि स्थानीय स्रोत, श्रमदान र नागरिकको सहयोगमार्फत योजना अघि बढाउने उनको भनाइले सामाजिक सञ्जालमा चासो बढाएको छ।

करिब दुई किलोमिटर पाइप आवश्यक पर्ने भएकाले योजनालाई सफल बनाउन नागरिकस्तरबाट सहयोग आवश्यक पर्ने देखिन्छ। यही कारण साम्पाङले पाइप उपलब्ध गराउन वा सहयोग गर्न चाहनेहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

योजना कार्यान्वयन भए अर्जुनधारा र कैलाशघाटबीचको सम्बन्धलाई धार्मिक तथा सांस्कृतिक रूपमा थप जोड्ने प्रयासका रूपमा यसलाई हेरिएको छ।

साम्पाङको यो घोषणाले अब प्रश्न पनि उठाएको छ । करिब दुई किलोमिटर पाइपलाइनमार्फत अर्जुनधाराको पानी कैलाशघाटसम्म पुर्‍याउने यो अभियानले धार्मिक पर्यटन र स्थानीय विकासमा कस्तो प्रभाव पार्ला?

प्रतिक्रिया

सम्बन्धित समाचार