उपचारपछि स्वदेश फर्किए देउवा, भने– ‘शक्तिका लागि होइन, देश सेवाका लागि फर्किएको हुँ’
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब साढे पाँच महिनाको उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। हङकङ हुँदै थाई एयरलाइन्सबाट धर्मपत्नी डा. आरजु राणासहित देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा भएको साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भएपछि देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। लामो उपचारपछि स्वदेश फर्किएका उनलाई स्वागत गर्न नेपाली कांग्रेसका शीर्ष नेता तथा कार्यकर्ताहरूको ठूलो भीड विमानस्थल पुगेको थियो।
देउवालाई स्वागत गर्न डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्कालगायतका नेता विमानस्थल पुगेका थिए। विमानस्थलबाट बाहिरिने क्रममा देउवाले बाजागाजा र सांस्कृतिक झाँकीसहित उपस्थित समर्थकहरूलाई गाडीको सनरुफबाट अभिवादन गरेका थिए।
स्वदेश फर्किएलगत्तै विज्ञप्ति जारी गर्दै देउवाले आफ्नो राजनीतिक पुनरागमनलाई पद र शक्तिसँग नजोड्न आग्रह गरेका छन्। उनले आफू शक्ति प्राप्तिका लागि नभई सर्वपक्षीय राष्ट्रिय एकता सुदृढ गर्दै देशको सेवा गर्न फर्किएको स्पष्ट पारेका छन्।
आफू अब नेता बनेरभन्दा पनि यस राष्ट्रको आजीवन नागरिकका रूपमा सेवा गर्न तयार रहेको उल्लेख गर्दै देउवाले कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने धारणा राखेका छन्।
राजनीतिबाट व्यक्तिगत रूपमा आफूले अब केही लिनु नरहेको र आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु नै अहिलेको प्रमुख दायित्व भएको उनको भनाइ छ।
देउवाले विसं २०३३ मा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग स्मरण गर्दै वर्तमान राजनीतिक परिस्थितिमा पनि सर्वपक्षीय राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।
उनले पार्टीभित्र देखिएको असहमति र निराशालाई तत्काल सम्बोधन गर्दै नेता तथा कार्यकर्ताको मनोबल उकास्नुपर्नेमा जोड दिएका छन्।
देउवाको स्वदेश आगमनसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति पनि थप सक्रिय हुने देखिएको छ। संस्थापनइतर पक्षले आयोजना गर्न लागेको तीनदिने राष्ट्रिय भेलाको शुक्रबार उद्घाटन गर्ने कार्यक्रमसमेत देउवाको रहेको छ।
लामो उपचारपछि स्वदेश फर्किएका देउवाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको आगामी राजनीतिक दिशा, पुस्तान्तरण र पार्टी एकताको बहसलाई समेत नयाँ मोड दिने संकेत गरेको छ।

प्रतिक्रिया